सरकार खोज्दै किशोरकिशोरी
03 Jun 2016 | 12:35 PM

फणि महत
चन्द्रपुर,२१ जेठ । ‘हामीलाई यसरी तपाईंको कार्यालयमा देख्दा अचम्म लाग्ला, हामी गाउँका समस्या लिएर आएका किशोरकिशोरी हौं, एकपटक गाउँ हेरेर हाम्रो समस्या सुनिदिन बिनम्र अनुरोध गर्दछौं', रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित भोलनटारका किशोरकिशोरीले नगरपालिकाको कार्यालय र इलाका प्रशासन कार्यालयलाई लेखेको पत्रको अंश हो यो ।
 
बस्तीका एक दर्जनभन्दा बढी किशोरकिशोरीले चन्द्रपुर नगरपालिकाका प्रमुख मिठाराम हुमागार्इं र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख गिरीधारी सुवेदीलाई आफ्नो बस्ती हेर्न आउन आग्रह गर्दै पत्र लेखेका हुन् ।
 
नगरपालिकाभित्रको बस्ती भए पनि सरकारी तथा गैरसरकारी संघसंस्थाले दिने सेवा सुविधाबाट भोलनटार, इपिलघारी, अरुणबस्तीका बासिन्दा वर्षौदेखि वञ्चित छन् ।
 
करिब २० वर्षअघिदेखि बसोवास गर्दै आएका चार सय घरपरिवार सुकुम्वासी तथा विपन्न वर्गका मानिस बस्तीमा पीडादायी जीवनयापन गरिरहेकाछन् ।
खानेपानी, स्वास्थ्यलगायत अन्य सरकारी सुविधा बस्तीमा पुग्न सकेको छैन । विद्यालय जान बाराको निजगढ नगरपालिकास्थित सिगौल तथा मकवानपुरको धियाल गाविससम्म घन्टौं हिँडेर जानुपर्ने बाध्यता छ । चन्द्रनिगाहपुर बजार आउन करिब आठ किलोमिटर घना जंगलको बाटो हिँड्नुपर्ने बाध्यता छ ।
 
विद्यालय जाने बाटोमा धन्सर खोला रहेकाले वर्षाको समयमा बाढीका कारण चार महिना पढाइ छुट्ने गरेको किशोरी राधिका विश्वकर्माले बताइन् ।
 
पढ्ने उमेरका धेरै किशोरकिशोरी गलैचा बुन्न काठमाडौं जाने गरेका छन् । तीन हजारभन्दा बढी मानिस बसोबास गर्दै आएको बस्तीमा एसएलसी उत्तीर्ण गरेका एकजना मात्रै किशोर छन् । गाउँकै एक मात्र एसएलसी उत्तीर्ण गरेका अमन थोकरका अनुसार गरिब तथा पिछडिएको बस्ती भएकाले धेरै समस्या छ ।
खानेपानीका लागि करिब दुई घन्टा टाढाको कुवा जानुपर्ने, बाटोका कारण यातायात गाउँसम्म पुग्न नसक्ने स्थानीय १७ वर्षीया सुन्तली बलले बताइन् । जंगल र खोलाको बाटो भएर निजगढ तथा चन्द्रनिगाहपुर आवतजावत गर्नुपर्ने उनीहरूको बाध्यता छ । बस्तीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रौतहटले किशोरकिशोरीलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि उनीहरूमा परिवर्तन आउन थालेको र गाउँको समस्यालाई उजागर गर्न थालेको पाइन्छ ।
 
बस्तीको अवस्था अनुगमनका लागि आग्रह गर्दै इलाका प्रशासन कार्यालय प्रमुखलाई पत्र दिँदै कशोरी ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us