कुटपिटपछि महिलालाई पिसाब खुवाइयो
18 Mar 2016 | 10:37 AM

जीवन सेजुवाल

गमगढी,५ चैत्र ।  देवर नाता पर्नेसँग दुई महिना बिताएर पुनः पुरानै पतिसँग फर्केको आरोपमा मुगुको रुगा गाविसकी एक महिलालाई गाउँलेले कुटपिट गरी पिसाब पियाएका छन् । छोराछोरीको बिचल्ली भएको भन्दै पतिले पत्नी स्वीकार गरे पनि गाउँलेले भने दुवै घरपरिवारलाई सामाजिक बहिष्कार गरेका छन् ।

जिल्ला सदरमुकाम नजिकैको रुगा गाविस ८ फोइपाटाकी ३८ वर्षीया जनला बढुवाललाई गत सोमबार उनकै घरमा सातजनाले कुटपिट गर्नुका साथै पिसाब पियाएका हुन् ।देवर नाता पर्नेसँग भागी भारत पुगेर फर्केको दुई महिनापछि गाउँलेले बालबच्चाको बिचल्ली भएको भन्दै पति हरिबहादुर बढुवाललाई मनाएर पत्नी स्वीकार्ने वातावरण बनाइदिएका थिए ।
 
तर केही गाउँलेले जनलाका पति हरिबहादुर र उनलाई भारत लैजाने प्रेम बढुवाल परिवारलाई सामाजिक बहिष्कार गरेका छन् । उनीहरूलाई गाउँको धाराको पानी खानसमेत दिइएको छैन । सोमबार दिउँसो सोही गाउँका जनलाल बढुवाल, नरेन्द्र बढुवाल, राजमती बढुवाल, कपुर बढुवाल, जनसिंह बढुवाल र ज्ञानसिंह बढुवालले कुटपिट गरेका हुन् । उनीहरूले जनलालाई पिसाब पियाइदिएको पीडित जनलाका भाइ जनबहादुर खड्काले बताए । उनीहरूले धाराको पाइपसमेत उखेलिदिएका छन् ।
 
घर फर्केकी दिदीलाई भिनाजुले पत्नी स्वीकार गरिसके पनि गाउँलेले सामाजिक बहिष्कार गरेको उनले बताए । ‘उहाँहरूको घरपरिवारले समेत स्वीकार गरेको बेला घरमै गएर कुटपिट गरी अमानवीय तरिकाले पिसाब खुवाइयो । हामीले घाउ जाँचका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराइसकेका छौं । उनीहरूमाथि कारबाहीका लागि निवेदन पनि दिएका छौं', जनलाका भाइले भने ।

कुटपिटबाट घाइते जनलाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जनलाको टाउकाको देब्रे भागमा पाँच टाँका लगाइएको उनका आफन्तले बताए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख लोकबहादुर जीसीले पीडितले प्रहरी कार्यालयमा उजुरी दिएको जानकारी दिए । प्रहरीले घटनासँग सम्बन्धित कसैलाई पक्राउ गरेको छैन ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us