पतिलाई छुटाउन बालिका अपहरण
17 Mar 2016 | 13:20 PM

सुवास गोतामे

काठमाडौं,४ चैत्र ।  चोरी मुद्दामा कारागारमा रहेका पतिलाई छुटाउन एक महिलाले आठ वर्षीया बालिकाको अपहरण गरेकी छिन् । काभ्रे सिमथली घर भई हाल ललितपुर बालकुमारी बस्ने बिनिता बाँस्कोटा भण्डारीले देवर नाता पर्ने भीमसेन भण्डारीसँग मिलेर बालकुमारीमै कोल्ड स्टोर सञ्चालन गरी बस्ने बलराम पाण्डेकी आठ वर्षीया छोरी सम्झनाको अपहरण गरेकी हुन् । प्रहरीले बालिकालाई मंगलबार राति अपहरणमुक्त गरेपछि थप रहस्य खुलेको हो ।

 घटनाबारे जानकारी दिन बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीका अनुसार मोटरसाइकल चोरी मुद्दामा धुलिखेल अदालतमा वकिलले बनिताका पति प्रकट भनिने विष्णु भण्डारीलाई छुटाउन दुई लाख ५० हजार रुपैयाँ चाहिने बताएपछि उनी बच्चा अपहरण गरेर फिरौती मागेर तिर्ने निधोमा पुगेकी थिइन् ।

 प्रकट र विनितासँगै पढ्दै गर्दा गत माघ २८ गते प्रेमविवाह गरेका थिए । विवाह भएको तेस्रो दिनमै पति मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेपछि विनिता तनावमा थिइन् । उनलाई जसरी भएपनि पछिलाई जेलबाट छुटाउनु थियो ।

 विनिताले चैत १ गते साँझ लुकामारी खेल्ने भन्दै सम्झनालाई लुकाउने बहानामा कोटेश्वर पुर्‌याएर भीमसेनको जिम्मा लगाएर पुनः बालकुमारीमै फर्किएकी थिइन् । भीमसेनले सम्झनालाई १ गते महाराजगन्जको एक गेस्टहाउसमा राखेर दोस्रो दिन गोपीकृष्ण हलमा दुईवटा फिल्म देखाएर पुनः विनिता दिदीलाई भेट्न जाने भन्दै चाबहिलस्थित पूर्वेली गेस्टहाउसको कोठा नम्बर ३०२ मा राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

 प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले विनितालाई नियन्त्रणमा लिएर बयान लिँदा उनले सबै विवरण खुलाएपछि प्रहरी गेस्ट हाउससम्म पुग्न सफल भएको हो । प्रहरी उक्त गेस्ट हाउसमा पुग्दा भीमसेनले नै सम्झनालाई बन्धक बनाएर राखेको अवस्थामा फेला पारेको जानकारी एसएसपी अधिकारीले दिए ।

 ‘पतिलाई छुटाउन वकिलले साढे दुई लाख रुपैयाँ मागेपछि रकम जुटाउन भीमसेनसँग सल्लाह गरेर बच्चा अपहरण गर्ने निधोमा पुगेको देखिन्छ', एसएसपी अधिकारीले भने, ‘एउटा अपराधीलाई छुटाउन अर्को अपराधमा होमिएकी विनिता अहिले पछुतोमा छिन् ।' उनका अनुसार सुरुमा दुईजना बालिबालिकाको अपहरण गरी पैसा असुल गर्ने प्रयास गरे पनि असफल भएपछि विनिता र भीमसेन तेस्रोपटकमा सम्झानालाई उम्काउन सफल भएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us