चिकित्सक लाइसेन्स पुनः दर्ता
16 Mar 2016 | 13:29 PM

दीपा दाहाल

काठमाडौं,३ चैत्र । मुलुकभरका स्वास्थ्य संस्थामा चिकित्सकलाई सन्तुलित रूपमा परिचालन र स्तरीय सेवाका लागि नेपाल मेडिकल काउन्सिलले उनीहरूको लाइसेन्स ‘स्थायी चिकित्सक प्रमाणपत्र' पुनः दर्ता गर्ने भएको छ । काउन्सिलका अनुसार मुलुकभर छरिएर सेवा दिइरहेका, लाइसेन्स पाएर पनि काम नगरेका, विदेशमा पुगेर सेवा दिइरहेका चिकित्सकहरूको लाइसेन्स अनलाइनमार्फत पुनः दर्ता गर्न लागिएको हो ।

काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले आगामी वैशाखदेखि ६ महिनाभित्र काम सक्ने गरी सरल र सहज रूपमा चिकित्सकको लाइसेन्स पुनः दर्ता गरिने बताए । स्थायी लाइसेन्स प्राप्त चिकित्सकहरूले जुनसुकै स्थानमा रहे पनि आफ्नो नाम, योग्यता, विशेषज्ञ कार्यरत स्वास्थ्य संस्था, ठेगानालगायतको जानकारी तोकिएको मितिभित्र अनलाइनमार्फत काउन्सिलमा पठाउनुपर्नेछ ।

‘नेपालमा कार्यरत चिकित्सकको संख्या, विशेषज्ञ चिकित्सकको अवस्था, चिकित्साशास्त्र अध्ययनपछि पनि काम नगरेकाहरू, विदेशमा कार्यरत नेपाली चिकित्सकहरूको अवस्था पत्ता लागउन हामी उनीहरूको लाइसेन्स पुनः दर्ता गर्ने तयारीमा जुटेका हौं', दिलीपले भने, ‘जसले मुलुकभर चिकित्सकलाई सन्तुलित रूपमा परिचालन गर्न सरकारलाई सहज हुनेछ र चिकित्सक अ अभावमा बिरामीले सास्ती पाउने छैनन् ।'

 सुविधाका कारण सहरी क्षेत्रमा आवश्यकभन्दा चिकित्सक खटिने र भौगोलिक विकटताका कारण ग्रामीण क्षेत्रमा चिकित्सक नपुग्दा बिरामीको ज्यान जोखिममा परिरहेका बेला काउन्सिलले चिकित्सकको विस्तृत विवरण संकलन गरी स्वास्थ्य मन्त्रालयलाईघच्घचाउने तयारी गरेको हो । नेपालमा कति चिकित्सक कुनकुन स्वास्थ्य संस्थामा छन् र उनीहरूको सेवाको अवस्था कस्तो छ भन्ने तथ्यांक र जानकारी नहुँदा स्वास्थ्यका महत्त्वपूर्ण कार्यक्रम प्रभावित हुँदै आएका छन् । 
 
काउन्सिलले लाइसेन्स पुनः दर्ता गर्ने क्रममा राष्ट्रिय अनुसन्धान ब्युरो, स्वास्थ्य मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय, उच्च माध्यमिक शिक्षा परिषद् र स्वयम् काउन्सिलमा उजुरी परेका चिकित्सकको योग्यता प्रमाणपत्रमाथि पनि छानबीन गरिने भएको छ ।
 
‘नेपालमा कार्यरत अनुमानित १७ हजार चिकित्सकको योग्यता प्रमाणपत्रमाथि एकएक गरी छानबिन सम्भव देखिँदैन । त्यसैले सम्बन्धित निकायमा उजुरी परेका चिकित्सकको शैक्षिक योग्यतामाथिको छानबिन पनि अगाडि बढाउने भएका छौं,' उनले भने, ‘त्यसबाट आफूले हासिल नगरेको उच्चशिक्षाको योग्यता प्रमाणपत्र पेस गरेर चिकित्साशास्त्र अध्ययन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सहज हुनेछ ।' अहिलेसम्म नक्कली प्रमाणपत्र भेटिएका १४ जनामध्ये १२ जना चिकित्सकलाई नियन्त्रणमा लिएर छोडिएको छ ।

नेपालमा नक्कली प्रमाणपत्रधारी चिकित्सकको संख्या धेरै रहेको आशंकामा छानबिन अगाडि बढाइएको छ । लाइेसेन्सिङ परीक्षामा सहभागी नक्कली विद्यार्थीलाई समेत कमजोर कानुनका कारण छोडिएको छ । काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले फितलो कानुनका कारण जीवनमरणको दोसाँधमा रहेका बिरामीमाथि खेलबाड गर्ने मनसायका साथ लाइसेन्सिङ परीक्षामा सहभागी भएका नक्कली विद्यार्थीलाई कारबाही गर्न नपाएको बताए । 
 
‘कानुन बनाउँदा धेरै होस पुर्‌याएर बनाउनुपर्ने रहेछ । हामी पनि कानुनबाट पीडित भएका छौं', उनले भने, ‘काउन्सिलले चिकित्सासेवा गर्नुपूर्व दिने परीक्षामा फेल भएका दुईजना नक्कली विद्यार्थीलाई प्रहरीले जिम्मा लिएर अदालतमा पुर्‌यायो तर अदालतले उनीहरूलाई कारबाही गर्ने कानुन छैन भन्दै छोडिदियो ।
 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us