भूकम्पपीडित बालबालिकाका लागि २० हजार एकल विद्यालय
16 Mar 2016 | 10:53 AM

गोपीकृष्ण ढुंगाना

काठमाडौं,३ चैत्र । भूकम्प प्रभावित दोलखा, सिन्धुपाल्चोक, रामेछाम र ओखलढुंगाका करिब बीस हजार बालबालिकाका लागि एकल विद्यालय सञ्चालन गरिने भएको छ । जनकल्याण प्रतिष्ठान नेपालको एकल विद्यालय योजनाअन्तर्गत एक शिक्षकमार्फत नैतिक शिक्षा, संस्कार र आरोग्य विषयमा केन्द्रित रही प्रत्येक जिल्लामा पचासवटा विद्यालय सञ्चालन गर्न लागिएको हो ।

एक जिल्लामा पचासका दरले विद्यालय सञ्चालन गरिने र एक विद्यालयमा बढीमा चालीस बालबालिका हुनेछन् । प्रतिष्ठानका महासचिव सुनिल अग्रवालले भूकम्प प्रभावितमध्ये चार जिल्लामा सर्वेक्षण गर्दा करिब पाँच सय विद्यालय आवश्यक रहेको बताए । उनले मंगलबार अन्नपूर्णसँग भने, ‘तत्काललाई प्रत्येक जिल्लामा करिब पचासवटा एकल विद्यालय सञ्चालन गर्नेछौं । चैत दोस्रो सातादेखि शिक्षक छनोट र तालिम दिनेछौं भने वैशाखदेखि विद्यालय सञ्चालन गर्नेछौं ।'
 भारतको झारखण्डबाट २५ वर्षअघि सुरु गरिएको एकल विद्यालयको अवधारणा अहिले भारतभरका ५२ हजार विद्यालयमा सञ्चालित छ । २२ वर्षअघि नेपाल भित्रिएको उक्त एकल विद्यालय अहिले मुलुकभरका ३९ जिल्लामा एक हजार ६ सय ४६ विद्यालय सञ्चालनमा छन् । धादिङमा २७ वटा विद्यालयबाट यो सुरुआत गरिएको हो । हाल ४७ हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले अब २० हजार विद्यार्थी थप्न लागेको बताएका हुन् ।
 
एकल विद्यालय अनौपचारिक प्राथमिक शिक्षा हो । विद्यालय भर्ना हुन नपाएका गरिब र अशिक्षित परिवारमा लक्षित यो विद्यालयमा अन्यत्र भर्ना भएर अध्ययनरत तर संस्कार र स्वास्थ्यबाट वञ्चितलाई पनि समेट्ने काम हुन्छ । समय र परिस्थितिअनुसार अभिभावक र व्यवस्थापन समितिको सल्लाहमा बिहान, दिउँसो वा साँझ कक्षा सञ्चालन हुन्छ । यसमा दैनिक दुईदेखि तीन घन्टा कक्षा लिइन्छ । विशेषगरी ग्रामीण क्षेत्रका गरिब र अशिक्षित परिवारमा असल व्यक्तिको निर्माण गर्ने विद्यालयको उद्देश्य रहेको एकल विद्यालय अभियानका संयोजक वीरेन्द्र बुढाथोकीले जानकारी दिए । 
 
उनले भने, ‘यसमा समितिले विद्यालय सञ्चालन हुने ठाउँकै कम्तीमा १० कक्षा पढेका र पढाउन सक्नेलाई छनोट गर्छ र पदले आचार्य भनिने उसलाई नैतिक शिक्षा, संस्कार र स्वास्थ्यबारे सिकाउन सक्नेगरी तालिम दिन्छ । अभिभावकलाई अनौपचारिक रूपमा यिनको जानकारी दिइन्छ ।' उनका अनुसार बालबालिकालाई कुरीति, छुवाछुत, सरसफाइ, नीतिकथा, अन्धविश्वासलगायतको शिक्षा दिई चरित्र निर्माणमा सघाउ पुर्‌याइन्छ । तीन वा चार वर्ष एकल विद्यालय पढ्नेले सरकारी वा निजी विद्यालयमा कक्षा पाँचमा भर्ना हुन पाउने उनको भनाइ छ ।
 
भारतमा एकल विद्यालयको सुरु श्यामजी गुप्तले गरेका हुन् । स्वामी विवेकानन्दबाट प्रभावित भएर उनले एकल विद्यालयको योजना बनाएका थिए । हाल नेपाल आएका उनले भने, ‘विवेकानन्दले अमेरिकाको सिकागोमा जबसम्म ग्रामीण समाजका मानिस शिक्षित हुँदैनन् तबसम्म समाज र देशको उत्थान हुँदैन भनेर प्रवचन दिएपछि यो अभियान सुरु गरेको हुँ ।' उनका अनुसार जहाँ विद्यार्थी विद्यालय पुग्न सक्दैन त्यहाँ विद्यालय विद्यार्थीसामु पुग्नुपर्छ । 
 
उनले विवेकानन्दको भनाइ स्मरण गरे, ‘जबसम्म देशको एउटा व्यक्ति निरक्षर रहनेछन् तबसम्म म प्रत्येक शिक्षित व्यक्तिलाई अपराधी मान्दछु ।' प्रतिष्ठानका उपाध्यक्ष एवं कलाकार टीका पहाडीले एकल विद्यालयका संस्कारमूलक शिक्षा तथा साप्ताहिक सतसंगका माध्यमले हजारौं अभिभावकले समेत जाँड, रक्सी, दुव्र्यसन र मांसाहार त्याग गरिसकेको जानकारी दिए । उनले भने, ‘यसमा विद्यालयको भवन नै चाहिन्छ भन्ने छैन, रूखको फेदमा, मन्दिरमा, सामुदायिक भवनमा वा कसैको घरआँगनमा निशुल्कः रूपमा सुरु गर्ने गरिएको छ ।'

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us