​ महिलालाई बन्धक बनाएर यातना
15 Mar 2016 | 11:04 AM

किशोर बुढाथोकी


बेलबारी (मोरङ),२ चैत्र । कांग्रेस महाधिवेशनमा नगएको विषयलाई लिएर मोरङको डाँगीहाट ९ की एक युवतीलाई अपहरण गरी दुई दिनसम्म बन्धक बनाएर यातना दिएको खुल्न आएको छ । डाँगीहाट ९ की २३ वर्षीया नरमाया बिष्टले अपहरण मुक्त हुन ५० हजार रुपैयाँ फिरौतीसमेत बुझाउनु परेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।
 
प्रहरी निरीक्षक मेघराज थापाका अनुसार डाँगीहाट ९ की बिष्टलाई कांग्रेसको महाधिवेशनमा जाने भनेर हिँडेपछि बीचबाटोमै छाडेर धोका दिएको भन्दै धनकुटाको भेडेटार ४ स्थित ग्रिन हेवन होटेलकी सञ्चालिका रीता भनिने खिमकुमारी लिम्बू (कार्की) ले भाडाका गुन्डाको प्रयोग गरेर अपहरण गर्दै बन्धक बनाएर यातना दिन लगाएकी हुन् ।
 
खिमकुमारीले भेंडेटारस्थित आफ्नै होटेलको १०१ नम्बर कोठाभित्र केही पनि खान नदिई दुई दिनसम्म बन्धक बनाएर युवतीमाथि कुटपिट गर्न लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए । खिमकुमारी नेपाली कांग्रेस धनकुटा क्षेत्र नम्बर १ का पूर्वसभापति स्वार्गीय गोविन्द कार्कीकी पत्नी हुन् । उनले गत फागुन २४ गते बिहान ११ बजे भाडाका गुन्डा प्रयोग गरेर युवतीलाई अपहरण गर्न लगाएको प्रहरीले बताएको छ ।
 
गुण्डाले अपहरण गरेर भेंडेटार पुर्‌याएपछि फागुन २४ र २५ गते खिमकुमारीले आफ्नै होटेलको कोठामा बन्धक बनाएर निर्घात कुटपिट गर्न लगाएको प्रनि थापाले बताए । कुटपिटबाट युवतीको शरीरभर नीलडाम छ । अनुहार, टाउको र नाडीमा गहिरो चोट लागेको छ ।
 
कुटपिटका क्रममा लागेको घाउचोटबाट रगत धेरै बगेका कारण शरीरमा रगतको अभाव देखिएकी उनी अहिले पनि मानसिक रूपमा विछिप्त छिन् । प्रनि थापाका अनुसार शारीरिक रूपमा गहिरो चोट लागेको र मानसिक यातनासमेत दिइएका कारण उपचार गराउँदासमेत पीडित युवती अझैसम्म सामान्य अवस्थामा फर्कन सकेकी छैनन् । घटना स्थलमा प्रहरी पुग्दा कोठाभित्र लतपत्तिएको रगत पुछेर घटनाको प्रमाण नष्ट बनाउनेसम्मको हर्कत खिमकुमारीले गरेको जानकारी थापाले दिए ।
 
आमा खममायाँ बिष्टले ५० हजार रुपैयाँ फिरौती बुझाएर छोरी नरमायाँलाई अपहरण मुक्त गरेको घटना पनि सार्वजनिक भएको हो । प्रहरीका अनुसार अपहरणपछि नरमायाँका परिवारसँग ६५ हजार रुपैयाँ फिरौती माग गर्दै दिन नसकेमा हत्या गर्नेसम्मको धम्की दिइएको थियो । 
 
परिवारले त्यत्रो रकम दिन नसक्ने बताएपछि युवतीमाथि थप कुटपिट गर्ने र यातना दिएर अमानवीय घटना गराएको प्रहरीले पत्ता लगाएको छ । प्रनि थापाले भने, ‘हत्यानै हुन सक्ने भएपछि आमाले ऋण खोजेर ५० हजार रुपैयाँ बुझाएर छोरीलाई अपहरण मुक्त गराएको पाइयो ।'
 
पैसा बुझाएर आमाले छोरीलाई अपहरण मुक्त गरेर ल्याएको भन्ने सूचनाका आधारमा प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । त्यसअघिसम्म प्रहरीले घटनाका बारेमा चाल पाएको थिएन । प्रहरीले होटेल सञ्चालिका खिमकुमारीलाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन थप अनुसन्धानका लागि सोमबार म्याद थप गरेपछि घटना बाहिर आएको हो । उनीविरुद्ध नरमायाँकी आमा खममायाँले किटानी जाहेरीसमेत दिएकी छन् ।
 
‘प्रहरी नियन्त्रणमा रहेकी खिमकुमारीले घटनामा आफ्नो संलग्नता स्वीकार गरेकी छन्,' प्रनि थापाले भने, ‘बाँकी कुरा थप अनुसन्धानपछि खुल्दै जानेछन् ।' सामान्य चिनजान रहेका नरमायाँ र खिमकुमारी फागुन १९ गते कांग्रेस महाधिवेशनमा काठमाडौं जानका लागि भनेर बाटो लागेका थिए । बीच बोटोमा पुगेपछि मादक पदार्थ सेवन गरेर खिमकुमारीले अनर्गल हर्कत देखाउन थालेपछि आफू उनलाई छाडेर घर फर्किएको नरमायाँले प्रहरीलाई बताएकी छन् । 
 
‘सँगै काठमाडौं जान भनेर हिँडेका थियौं,' उनलाई उद्ध्रित गर्दै प्रहरीले भन्यो, ‘बीच बाटोमा अनर्गल हर्कत देखाउन थालेका कारण सम्झाई बुझाई गर्दा पनि केही नलागेपछि म फर्किएर आएँ ।'
 
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खिमकुमारीले बीच बाटोमा आफूलाई छाडेको भन्दै प्रतिशोध साँधेर गुन्डा लगाउँदै अपहरण गरेर युवतीमाथि घटना गराएको पुष्टि भएको छ । उनले घटनामा आफ्नो संलग्नता रहे पनि कुटपिट हुनबाट भने युवतीलाई आफै‌ले बचाएको बयान दिएकी छन् । ‘कांग्रेस महाधिवेशनमै जाने विषयलाई लिएर यत्रो घटना भएको हो । मैले यस्तो गर्नु हुँदैन भनेर नबुझेकाले घटना भयो,' उनले भनिन्, ‘कोठाभित्र थुनेपछि छाडिदिएको भए कुटेर मारिदिने थिए तर उनीहरूले भने जति कुटपिट गर्न दिइनँ ।'
 
प्रहरीका अनुसार दुईवटा नम्बर नखुलेका रातो र कालो मोटरसाइकलमा पुगेका चारजना युवाले नरमायाँलाई घरैबाट अपहरण गर्दै राजमार्गभन्दा भित्रको बाटो प्रयोग गरेर भेंडेटार पुर्‌याएको खुलेको छ । खिमकुमारीले युवतीको अपरहणमा धरान ८ का २६ वर्षीय करुण लिम्बू, ३० वर्षीय रेलिन लिम्बू, २९ वर्षीय नवीन राई र अर्का पहिचान नखुलेका एक युवाको प्रयोग गरेको प्रहरीले पत्ता लगाएको छ ।
 
अपहरणमा संलग्न युवाको खोजी र पक्राउका लागि विशेष टोली परिचालन गरिएको थापाले बताए । उनका अनुसार फिरौतीबापत नरमायाँकी आमा खममायाँले बुझाएको ५० हजार रुपैयाँमध्ये खिमकुमारीले १५ हजार रुपैयाँ आफूलाई राखेर ३५ हजार रुपैयाँ अपहरण र कुटपिटमा प्रयोग गरिएका युवालाई दिएको पत्ता लागेको छ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us