कर्णालीको पहाडीक्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात
13 Mar 2016 | 15:07 PM

ललितबहादुर बुढा

सुर्खेत,३० फागुन ।  मौसममा अचानक आएको परिवर्तनसँगै कर्णाली अञ्चलका जिल्लाहरुमा भारी हिमपात भएको छ । वर्षासँगै कर्णाली अञ्चलका जिल्लाहरुमा आइतवार विहानबाट हिमपात सुरु भएको हो । हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । 

हिँउ पर्न थालेपछि जाडो बढेको छ । जाडो र भारी हिमपातका कारण मानिसहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । जुम्ला लगायत कर्णालीका अन्य जिल्लाहरुमा समेत बिहान ६ बजेबाट हिमपात सुरु भएको हो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमपातका कारण त्यहाँको हवाइसेवासमेत प्रभावित भएको छ । सदरमुकाम आसपासका गाँउमा बाक्लो हिँउ जमेको छ । जुम्ला सदरमुकाम आसापासका क्षेत्रमा आधा फिटसम्म हिँउ जमेको छ । यस्तै जिल्लाका अन्य उच्च भागमा पनि भारी हिमपात भएको छ ।

आइतवार विहानैदेखि हिमपात सुरु भएपछि अधिकांश विद्यालयहरु बन्द गरिएका छन् । यस्तै उच्च भेगमा भएको हिमपातले पशुचौपायालाई चराउन समेत कठिनाइ भएको स्थानीय बासिन्दाले बताएका छन् । 

हिँउ परेपछि पाटनतर्फ चराउनका लागि लगिएका भेडा च्याङग्रालाई चराउन समस्या भएको हो । कर्णालीका जुम्ला, डोल्पा, कालिकोट र मुगु लगायतका जिल्लामा समेत उच्च भेगहरुमा भारी हिमपात भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

हिमपात भएपछि स्थानीय बासिन्दा घरभित्रै आगो तापेर बसेका छन् । सरकारी कार्यालयहरु खुलेको भए पनि जाडो बढेका कारण जुम्लामा कर्मचारीहरु कार्यालयमा नै आगो तापेर बसेका छन् । 

सेवाग्राहीको उपस्थिति एकदमै न्यून रहेको छ । हिमपातसँगै आकासमा बादल लागेको र घाम नलागेपछि सोलारबाट सञ्चालन भइरहेका स्थानीय संचारमाध्यमहरु समेत बन्द हुने अवस्थामा पुगेका छन् । 

हिमपात भएपछि बजार समेत खुल्न नसकेको बताइएको छ । हिमपातले जनजीवन कष्टकर भए पनि स्थानीय किसानहरुले भने केही राहत महशुस गरेका छन् । 
 लामो समयपछि वर्षासँगै भएको हिमपातले खडेरीका कारण सखाप हुन लागेको बाली सप्रिने आश उनीहरुले गरेका छन् । यसअघि पुस मसान्तमा एकपटक मात्र त्यहाँ हिउ परेको थियो । फागुनको अन्तिममा भएको हिमपातले भने किसानलाई केही राहत मिलेको छ ।

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us