तारा एयरको विमान म्याग्दीको दाना गाविसमा दुर्घटनाग्रस्त अवस्थामा फेला/चालक दलका ३ सहित सवै २३ जनाको मृत्यु
24 Feb 2016 | 13:52 PM


म्याग्दी, १२ फागुन । पोखराबाट जोमसोम जाने क्रममा आज बिहानैदेखि हराईरहेको तारा एयरको विमान म्याग्दीको दाना गाविस १ सोलीघोप्टे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा विमानमा चालक दलका ३ सदस्य र २ विदेशीसहित २० यात्रुगरी सवै २३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, स्थानियवासीको सूचनाका आधारमा पैदलमार्गबाट खोजीमा गएको प्रहरीको टोलीले सोलीघोप्टे मुनि टेकरको रुखमा ठोकिएर आगलागी भएको अवस्थामा दिउसो १ बजेतिर विमान फेला पारेको हो । विमान क्षतविक्षत भएकाले शवहरु   चिन्न नसकिने अवस्थामा रहेको डिएसपी खड्काले बताउनुभयो । 


दुर्घटनामा मृत्यु भएकामा विमानका चालक रोशन मानन्धर, सहचालक डीकेश नेम्कुल, परिचारिका रोमा राउत छन् । त्यसैगरी यात्रुहरु रेवती बराल, मुक्तिनाथ बाँस्तोला, कृष्णलाल भट्टचन, देवी जङ्ग गुरुङ्ग, फेञ्जोक गुरुङ्ग, लक्ष्मी हिराचन, मोतीबहादुर केसी, बालकृष्ण निउरे, कान्छा परियार, राजकुमार तामाङ्ग, विनिता भट्टचन, दीलकुमारी गौचन, पवित्रा केसी, लेप्साङ्ग लामा, डोल्मा छिरिङ्ग शेर्पा, कमला थकालीको पनि मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ । विमानमा सवार चीनकी नागरिक माक सिउ यीङ्ग र कुवेतका रालरसेद अहमद तथा २ जना शिशुको पनि मृत्यु भएको छ । 


दुर्घटनास्थलमा बाक्लो हुस्सु लागेकाले हेलिकप्टर बस्न सक्ने अवस्था नरहेको म्याग्दी प्रहरीका डिएसपी खड्काले बताउनुभयो । दुर्घटनास्थलमा स्थलमार्गबाटै सुरक्षाकर्मीको थप टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।  


पोखरा विमानस्थल कार्यालयका अनुसार, जोमसोम लागि विहान ७ बजेर ५० मिनटमा उडेको कल साइन  9N-AHHभएको तारा एयरको ट्वीनटर जहाजसंग त्यसको ९ मिनटपछि अन्तिम सम्पर्क भएको थियो । क्यानडामा निर्मित विमान तारा एयरले गत असोजमा मात्र नेपाल ल्याएको थियो । विमानमा मौसमको अवस्था देखाउने राडार जडित रहेको तारा एअरले जनाएको छ । विमान सम्पर्कविहिन भएलगत्तै खोजीका लागि सेनाको एउटा र २ वटा निजी हेलिकप्टर परिचालन गरिएका थिए । त्यस्तै, पैदलमार्गबाट पनि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली पठाइएको थियो ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us