नेपाल आयल निगमले महंगोमा इन्धन खरिद गर्ने
06 Nov 2015 | 11:17 AM

नेपाल आयल निगमले तत्कालको इन्धन संकट टार्न भन्दै विराट पेट्रो केमिकल्सबाट ठूलो नोक्सानी बेहोरेर इन्धन खरिद गर्ने भएको छ । प्रतिलिटर एक सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरी पेट्रोल खरिदको सम्झौतासहित निगमले २० करोड रुपैयाँ पेस्की दिइसकेको कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले पहिलो काम संकट टार्नु रहेकोले महँगो र कानुनको कुरा गर्नुको तुक नभएको जिकिर गर्नुभयो ।

विराटले तेल ल्याउने जस्तो देखेरै सम्झौता गरेको बताउँदै उहाँले जनतालाई तेल चाहिएको र महँगो मुल्य तिर्न नसके उसँग किनेको तेल थन्केर बस्ने बताउनुभयो । भारतले नाकाबन्दी लगाएपछि चर्किएको इन्धन अभाव टार्न सरकारको निर्देशनअनुसार नेपाल आयल निगमले निजी कम्पनीबाट पेट्रोलियम आपूर्ति गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो।  सो टेन्डर अनधिकृत रुपमा विराट आयललाई दिएको भन्दै खड्कालाई हिजोस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बद्ध समिति समेत उपस्थित गराइएको थियो ।

तर समिति बैठकमै उहाँले अहिलेको संकटको बेला कानुनसानुनको कुरा मानिदैन तेल नल्याई छाड्दिन भन्नुभएको थियो । आफैंले पेस्की रकम दिएको कम्पनीबाट निगमले भन्सार सहित पेट्रोल दुई सय ३० रुपैयाँ ७१ पैसा र डिजेल एक सय ९३ रुपैयाँ ८६ पैसा प्रतिलिटरमा खरिद गर्न लागेको छ । यो इन्धन हालकै बजार मुल्यमा बिक्री गर्दा निगमले प्रतिलिटर पेट्रोलमा एक सय ३९ रुपैयाँ ४० पैसा र डिजेलमा एक सय २३ रुपैयाँ ९५ पैसा प्रतिलिटर नोक्सान बेहोर्नुपर्नेछ ।

जबकी अहिले भारतबाट खरिद गरिएको पेट्रोलमा १२ रुपैयाँ ६६ पैसा र डिजेलमा ८ रुपैयाँ ५७ पैसा नाफा कमाइरहेको छ ।१५ दिनका लागि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सूचनामार्फत ग्लोबल टेन्डर आह्वान गरेको निगमले खड्काकै ठाडो आदेशमा प्रतिस्पर्धामा उत्रिएका २१ कम्पनी पन्छाएर विराटलाई प्रतीतपत्र (एलसी) खोल्न बिनाआधार २० करोड रुपैयाँसमेत भुक्तानी दिएको थियो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us