घैंटे र चरी मारेर अपराध मर्छ?
28 Aug 2015 | 10:59 AM

सुमन बराल

नेपाल प्रहरी अपराध अनुसन्धान शाखाको अनुसार मुठभेडमा परि घैंटे भनिने कांग्रेसनिकट डन कुमार श्रेष्ठ मारिएका छन्। हप्ता असुली, गुन्डागर्दी, ज्यान मार्ने उद्योग, ठेक्कापट्टालगायतका गतिविधिमा संलग्न घैंटे पटकपटक पक्राउ परेर पनि नेताहरूको संरक्षणमा छुट्ने गरेका थिए। 

 यसरी अपराधीलाई समातेर कानुनी कारबाही अगाडि बढाउन नदिन राजनीतिक खोल ओढेकाहरूले रोक्दै आएका छन्। कुनै इमानदार प्रहरीले प्रमाणसहित समाते पनि साम, दाम, दण्ड र भेद प्रयोग गरी नेताहरूले छुटाउने गरेका छन्। रमेश खरेलजस्ता इमानदार प्रहरीलाई बदनाम बनाइन्छ, फसाइन्छ, सरुवा गरिन्छ र तर्साइन्छ। प्रहरी प्रशासन डनतन्त्रको अघि सधैं निरीह छ।

प्रहरीको इनकाउन्टरमा मारिएका भनिएका एमालेनिकट डन दिनेश अधिकारी चरीको मृत्युपछि संसद्मा हंगामा गर्दै सुनियोजित हत्या भनेर प्रहरीलाई आरोप लगाइएको थियो। उनको समर्थन गर्ने सभासद्, नेता, आफन्त र शुभेच्छुकहरूले धर्ना बस्ने, बन्द गर्ने, सडकमा जुलुस निकाल्ने र शवयात्रा गरेर लासमाथि एमालेको झन्डा ओडाउनेलगायतका गतिविधि गरेका थिए। 

अहिले नेपाली कांग्रेसका सभासद् जगदीश्वरनरसिंह केसी, गगन थापा, धनराज गुरुङ, भीमसेनदास प्रधानलगायतका नेताहरूले घैंटे निर्दोष रहेकाले उल्टै प्रहरीमाथि गुन्डागर्दी गरेको आरोप लगाउँदै घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न अनि सहिद घोषणा गर्न संसद्मा माग राखेका छन्।

 जनताले आफ्नो सुरक्षाका लागि खटिएका प्रहरी वा डनहरूको संरक्षण गर्ने सभासद्मध्ये कसलाई विश्वास गर्ने भन्ने प्रश्न जन्मिएको छ। नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले फायरिङ गर्दा मृत्युभएको प्रहरीको जबाफलाई षड्यन्त्र र सुनियोजित हत्या भनेर आरोप लगाइएको छ।

 घैंटेको साथमा बरामद भएको पिस्तोल प्रहरीले नै राखिदिएर फसाएको हुनसक्ने सभासद् केसीले बताएका छन्। उनका अनुसार भूकम्पपछि घैंटेले गरेको सामाजिक कामबाट एमालेको माथिल्लो निकायमा डाहा भएकाले गृह मन्त्रालयदेखि प्रहरी प्रशासनसमेतको मिलेमतोमा योजनाबद्ध रूपमा मारिएको हो। 

 पक्कै पनि राज्यले फसाउन चाहेमा जोकसैलाई फसाउन सक्छ र खराब राज्यमा असल हुनु खतरनाक हुन्छ, तर के केसीले भने झैं नेपाल प्रहरी अविश्वसनीय भएकै हो त? साझेदार भएर कुनै व्यवसाय सञ्चालन गराएर अथवा राजनीति र समाज सेवामा संलग्न गराएर डनहरूको अवैध धनलाई वैध बनाउने काम नेताहरूले गर्दै आएका छन्। 

 कानुन र विधिको शासनलाई मन्त्र बनाएर जप्ने नेताहरूबाटै अपराधीको संरक्षण हुँदै आएको छ। आपराधिक पृष्ठभूमि भएको घैंटेबाट चुनावमा सहयोग लिएको स्वीकार्ने केसीले अबको जमनामा अपराध गर्नेलाई कसैले बचाउन नसक्ने भएकाले उनलाई निर्माण व्यवसायमा संलग्न गराइदिएको गौरवका साथ बताएका छन्। 

कुनै अपराधीलाई राम्रो बाटोमा हिँडाउनु राम्रो काम हो, तर देश र जनताको मुहार फेर्न राजनीति गरेका हुन् केसीले भने १०-१५ हजारका लागि बेचिने गरिबहरूका लागि किन स्वदेशमा रोजगार दिलाउन कुनै योजना ल्याउँदैनन् कि उनको राजनीतिक भविष्य सुरक्षित गरिदिने डनहरूलाई मात्र व्यवसायमा संलग्न गराइदिने हुन्?

 महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले भनेझैं गुन्डाको राज चल्नु हुँदैन र नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न अनि व्यवसाय गर्न पाउनुपर्छ। कानुनी कारबाही गर्न नेताहरूले नदिएकाले नागरिकको करबाट तलब खाने प्रहरीसामु निरीह बन्ने अथवा इनकाउन्टर गर्ने केवल दुई विकल्प रहेको देखिन्छ । तर चक्रे मिलन, गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेतलगायतका डनहरूलाई मारेर अपराध मर्दैन।

 

प्रहरीले गुन्डाराजको अन्त्य वास्तवमै चाहेको हो भने अपराधमा संलग्न कथित डनहरूलाई केही दिनभित्रमा सजिलै समात्न सक्छ तर किन उनीहरूलाई खुलेआम आपराधिक गतिविधि गर्न छुट दिइन्छ ? कानुनको दायरामा डनहरूलाई ल्याएर तिनका संरक्षकलाई कारबाही गर्ने आधार नखोजी किन मारिन्छन्

 प्रहरीसँग गोली नभएर अन्य डनहरूलाई नियन्त्रणमा नलिइएको हो ? प्रहरीले जबाफी कारबाही पनि गर्न नपाउने हो भने किन हतियार बोक्ने भन्ने प्रश्न जन्मिन्छ, तर कम्मरमुनि प्रहार गरेर उसका थप अपराधबारे अनुसन्धान गर्नुपर्नेमा प्रहरीले मार्ने उद्देश्यले किन छातीमा गोली हान्यो

 विगत १५-२० वर्षदेखि आपराधिक क्रियाकलापमा संलग्न डनलाई प्रहरीले अहिले किन इन्काउन्टर गर्‍यो भन्ने प्रश्न सबैको चासोको विषय भएको छ। कतै चरी र घैंटे उनीहरूको संरक्षकहरूलाई अफ्ठयारो पर्ने भएपछि मारिएका त होइनन्?

 वैशाख १२ को भूकम्पपछि पीडितको सहयोग गर्न कांग्रेसले बनाएको संयन्त्रमा घैंटे उपसंयोजक थिए र उनलाई बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले जिम्मेवारी सुम्पिएर पठाएका थिए। यसले पुस्टि गर्छ, प्रहरीकै अघिपछि घैंटे थिए, तर उनलाई किन पक्राउ गरिएन र अहिले किन मारियो भन्ने विषयमा छानबिन हुन आवश्यक छ।

 यो देशमा सुत्केरी बेथामा उपचार नपाएर मर्ने, सिटामोल र जीवनजल नपाएर मर्ने, जाडोमा शीतलहरले मर्ने, बोक्सीको आरोपमा मर्ने, तुइनमा जोखिमपूर्ण यात्रा गर्दा मर्ने, बाढीपहिरोबाट मर्ने, गैरजातीय विवाह गर्दा मारिने, बन्दका कारण प्रभावित अनि अधिकारका लागि ज्यान गुमाउने जनता, विदेशमा मारिने श्रमिक र दाइजोको कुप्रथाबाट मारिनेहरूको मानव अधिकारको रक्षा हुनु पर्दैन ?

 सभाद्हरू किन कुर्लिंदैनन् ? कि बाँच्न पाउने अधिकार डन र अपराधीहरूको मात्र हो? यसरी नेताहरूले स्वतन्त्रता र बाँच्न पाउने अधिकारको अपव्याख्या गर्ने हो भने प्रहरी कार्यालय, अदालत, जेल सबै बन्द गरिदिए हुन्छ। 

 जेलबाट छुटेका भ्रष्टाचारी र अपराधीलाई फूलमालासहित सहर परिक्रमा गर्ने समाजमा अपराधीबाट जनता शासित हुनुपर्छ। तसर्थ डनहरूको प्रत्येक अपराधलाई ढाकछोप गर्ने, एउटै मञ्चमा बसेर उनीहरूलाई संरक्षण दिने नेताहरूलाई जबसम्म जनताले हराउँदैनन् तबसम्म अपराध नियन्त्रण असम्भव छ।

गुन्डा र डनहरूलाई संरक्षण गर्ने नेताहरूले आफ्नो स्वार्थका निम्ति सयौँ चरी र घैँटे उत्पादन गर्ने भएकाले उनीहरूलाई जेल चलान गर्न न्यायप्रेमी जनताले दबाब दिनुपर्छ।

यो देशमा दिनदहाडै सुरक्षित भनिने राजधानी काठमाडौंमा हत्या र अपहरण हुन्छन्, तर कसैले पनि सर्वदलीय संसदीय समिति वा अन्य निष्पक्ष छानबिन समिति गठन गर्न माग गर्दैनन्। गुन्डालाई प्र श्रय दिने नेताहरू, कथित अधिकारवादी र बौद्धिक जगत् रहेसम्म अपराध निर्मूल हुन सक्दैन। 

 मुठभेडमा प्रहरीले जोखिम मोलेर समाजमा डर, त्रास उत्पन्न गराएर अपराधमा संलग्नलाई नियन्त्रणमा लिने कार्यको प्रोत्साहन गरेर प्रहरीको मनोबल बढाउनुको सट्टा मारिएको अपराधीलाई सहिद घोषणा गर्नुपर्ने माग राख्‍ने नेता रहेसम्म अपराध थप मौलाएर जान्छ। नेपालमा डनको पक्षमा बोल्ने र संरक्षण गर्ने नेताहरूलाई पनि कारबाही गरियोस् भन्न सक्ने इमानदार नेता-कार्यकर्ताको नभएका हुन्?

 अपराधीको पालन, पोषण र संरक्षण गर्ने भ्रष्ट नेताहरूलाई पटकपटक जिताउने जनता पनि उत्तिकै दोषी हुन्। मानिसबाट गल्ती हुन्छ, तर एउटै गल्ती दोहोरियो भने त्यो अपराध ठहर्छ। तसर्थ कानुनको शासन र न्यायमा विश्वास गर्ने जनताले इमानदारलाई शासनसत्ता सुम्पिनुपर्छ। 

 चरी र घैंटेभन्दा उनीहरूलाई आवश्यकताअनुसार जन्माउने, हुर्काउने, फाइदा लिने र अन्त्यमा तगारो बने आफैं हत्या गराउने नेताहरूलाई कठघरामा उभ्याएर कारबाही गरिनु पर्दछ। कलियुगका विष्णु अवतार जनता नै हुन्। 

 तसर्थ गुन्डा र डनहरूलाई संरक्षण गर्ने नेताहरूले आफ्नो स्वार्थका निम्ति सयौँ चरी र घैँटे उत्पादन गर्ने भएकाले उनीहरूलाई जेल चलान गर्न न्यायप्रेमी जनताले दबाब दिनुपर्छ।केही अपराधीहरूलाई आजीवन कारागारको सजाय दिँदैमा वा उनीहरूलाई मार्दैमा आफैं सबै आपराधिक गतिविधि घट्दैनन्। अपराधी मारेर अपराध मर्दैन।

 अपराध कहाँ, कसरी र किन हुन्छ भन्ने अध्ययन गरेर अपराधी नजन्माउने समाज बनाउनेतर्फ सबै पक्षबाट इमानदार प्रयास हुनुपर्छ। संसार खराब मानिसको हिंसाले नभई असलहरूको मौनताले गर्दा ग्रसित छ भन्ने नेपोलियन बोनापार्टको चर्चित भनाइ हो। 

 वास्तवमै नेपालमा पनि असल जनता नभएका पक्कै होइनन्। तसर्थ जनता जागरुक भएर अपराधीलाई संरक्षण गरेर आफ्नो राजनीतिक भविष्य सुरक्षित देख्नेलाई नभई अपराध उन्मूलन गर्न लागि पर्ने असल नेतृत्वलाई शासन सत्ता सुम्पिनुपर्छ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us