घर बनाउन ऋण लिने हो ? यि प्रकृया पुरा गर्नुहोस : प्रबक्ता, राष्ट्र बैंक
21 May 2015 | 10:49 AM

जेठ ७, काठमाडौं । 

नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. मिन बहादुर श्रेष्ठले भुकम्प प्रभावितलाई आवास निर्माणका लागि दिइने कर्जा दश बर्षभित्र चुक्ता गरिसक्नुपर्ने गरी कार्यविधि बनाउन लागेको जानकारी दिनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमीत विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले घरको लागत, आम्दानीको स्रोत, धितोको अवस्था, भूकम्पबाट प्रभावित भएको प्रमाण र अन्य सरकारले तोकेका दायराहरु पुरा गरेपछि व्यक्तिको क्षमतामा आधारमा मात्र कर्जा दिइने उल्लेख गर्नुभयो । 

काठमाडौं उपत्यकामा बढिमा २५ लाख रुपैयाँका दरले र उपत्यका बाहिर बढिमा १५ लाखको दरले २ प्रतिशत ब्याजदरमा कर्जा दिइने प्रबक्ता श्रेष्ठको भनाइ छ ।  सबै प्रभावितहरुलाई एकैपटक पूर्ण कर्जा दिन नसकिने बताउँदै प्रबक्ता श्रेष्ठले घर निर्माण सुरु गरेपछि किस्ता बन्दिमा दिने उल्लेख गर्नुभयो ।

भुकम्पका कारण बैंकहरुले लगानी गरेका ठूला परियोजनाहरुमा पनि क्षति पुगेको बताउँदै राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले बैंकहरुमा नगद प्रवाहमा केही समस्या ल्याउन सक्ने बताउनुभयो । तर यसको अर्थ बैंकहरु डुबिहाल्छन् भनेर बुझ्न नहुने भन्दै उहाँले यस्तो समस्याको समाधानका लागि आफुहरु योजना बनाउन लागेको बताउनुभयो ।

हाउजिङमा गएको बैंक ऋणमा अनिवार्य बिमा गरिएकाले बैंकलाई धेरै समस्या नहुने बताउँदै उहाँले ५४ अर्व लगानी भएकोमा ९ अर्वको लगानीमा मात्रै क्षती पु¥याएको दावी गर्नुभयो । निर्माणका कार्य गर्दा नगद प्रवाह बढ्छ, यसले मुद्रास्फुर्ति बढ्ला नी ? भन्ने प्रश्नमा उहाँले मुद्रास्फुर्ति बढ्यो भनेर निर्माणमा नलाग्ने भन्ने कुरा पनि हुँदैन भन्नुहुँदै अहिलेको संकटकालीन अवस्थामा पनि मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वका लागि राष्ट्र बैंक सजग रहेको जिकिर गर्नुभयो  । खाद्य र निर्माण सामग्रीको मूल्यबृद्धि हुने सम्भावना भने रहेको बताउँदै उहाँले भुक्तानी सन्तुलन, वैदेशिक विनियम सञ्चिति लगायत अर्थतन्त्रका महत्वपूर्ण परिसूचकहरू सकारात्मक रहेकाले धेरै समस्या नहुने उहाँको दावी छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us