ओलीको आडमा मौलाएका खुरे !
18 Nov 2015 | 11:42 AM

कृष्णमुरारी भण्डारी

वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उपनिवेशवादी र अर्को नवउपनिवेशवादीले मिलेर नेपाललाई नयाँ उपनिवेश बनाउने तानाबाना पो रचेछन् !' उनको यो टिप्पणी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणपछि बेलायती र भारतीय प्रधानमन्त्रीहरूले जारी गरेको संयुक्त विज्ञप्तिबारे थियो। 

 'काठमाडौँ टुडे डट कम' नामक अनलाइनमा 'नेपालको संविधान अपूर्ण' शीर्षकमा समाचार प्रकाशित भएको थियो। संयुक्त विज्ञप्तिमा नेपालको संविधान अपूर्ण भएकाले यसलाई सच्याउन भारत र बेलायत सहमत भएको समाचारमा उल्लेख थियो।

 गम्भीर पत्रकार मानिने पौड्यालको टिप्पणीसँगै नेपालको परराष्ट्र मन्त्रालयले बेलायत र भारतबीचको त्यो विज्ञप्तिलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप मानेर आइन्दा त्यसो नगर्न चेतावनी दिएको थियो। त्यसलगत्तै प्रधानमन्त्री खड्ग ओलीको राष्ट्रका नाममा सम्बोधन प्रसारण पनि भयो । बेलायती राजदूतलाई नेपालबाट फर्काइएको धेरै भएको छैन।

 अहिले संसदीय व्यवस्थाको जननी मानिने बेलायतका प्रधानमन्त्री र संसारको ठूलो प्रजातन्त्र भनिने भारतका प्रधानमन्त्रीको संयुक्त विज्ञप्ति नेपालको प्रहारमा परेको छ। यो संयोग हो कि नेपालको आन्तरिक मामिलामा निरन्तर भइरहेको विदेशी हस्तक्षेपको प्रतिकार ? के यसलाई प्रधानमन्त्री ओलीको सम्बोधनले मार्गदर्शन गर्न सक्छ?

 राष्ट्रका नाममा ओलीको पहिलो सम्बोधन उनी प्रधानमन्त्री बनेको सैँतीसौँ दिनमा आएको छ। जो सुन्दा ओली सरकारको नीति कार्यक्रम जस्तो जोकसैलाई लागेको छ। नलागोस् पनि किन? सार्वभौम जनताका निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च निकाय संसद्को अधिवेशन चलिरहेको छ तर प्रधानमन्त्रीले व्यवस्थापिकामा होइन, रेडियो-टीभीमार्फत आमजनलाई पो सम्बोधन गरे ! यसबाट धेरैलाई अलमल पनि भएको छ। 

 तर पहिलो सम्बोधनमार्फत सांसदहरूलाई होइन, प्रधानमन्त्रीले दिदीबहिनी तथा दाजुभाइहरू भनेर सीधै नेपाली जनतालाई सम्बोधन गरेका छन्। उनले संसद्मा यो सम्बोधन गरेका भए माननीय सभामुख महोदय र सांसदहरू भन्नुपर्ने थियो। त्यसपछि यो सम्बोधनले अरू वैधानिक चरणहरू पार गरेर जानुपर्ने बाध्यता पनि थियो। 

 संसद्मा बोलेको भए संसदीय मसिहा मानिने बेलायत र भारतलाई यो चोटिलो जबाफ पनि हुन सक्थ्यो। संसद्मा ताली पनि पड्कने र टेबल ठटाइने पनि थियो। यति नै बेला ओलीलाई प्रधानमन्त्रीबाट च्युत गराउन तिकडममा लागेका माधव नेपाल, रामचन्द्र पौडेल र शेरबहादुर देउवाहरूका अनुहार टीभीमा देखिने पनि थियो।

 नेपाली कांग्रेसका नेताहरू ओलीविरुद्ध लागेको त जगजाहेर छ, तर एमालेकै माधव नेपालको गतिविधि बुझिनसक्नुको छ। नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गर्ने ओलीलाई उनले भनेछन्, 'माधव नेपाल राष्ट्रपति खाने मानिस हो ?' अर्थात, संसद्का सभामुख र राष्ट्रपति माधवका निम्ति छाडी पद हो र उनको रोजा पद मन्त्री प्रधानमन्त्री हो ! यसको अर्थ हुन्छ, घूस खाने र अधिकार दुरुपयोग गर्ने मात्र उनको लागि पद हो। 

 

होइन भने मुलुकका यी सर्वोच्च पद उनका लागि कसरी छाडी पद भए, रोजी पद किन हुन सकेनन् ? किनभने एक एमालेले यसको जबाफ रोचक र घोचक दुवै हुने गरी दिए-मुलुकको सर्वोच्च पदमा गएर जनताको सेवा गर्नका लागि उनले राजनीति गरेकै होइन रहेछन् ! उनैले थपे, तर यिनै नेपाल नन्दबहादुर पुन उपराष्ट्रपति हुन लाग्दा काँचो लडाकु' भनेर टाँग अड्काउन पुगे।

 हो, उपराष्ट्रपति पुन राज्यको कुनै पदमा कहिल्यै नबसेका व्यक्ति हुन्। तर आफ्नो बिग्रेका मिर्गौला फेर्न भारत गएर उपचार गर्दिन, स्वदेशमै गर्छु। मरे यहीँ मर्छु। उनको यही लबज सर्वस्वीकार्य भएको छ। उनले दौरा-सुरुवाल लगाएर के शपथ ग्रहण गरेका थिए नेपालीहरू उनबाट गद्‌गद् भए। 

 जबकि हाम्रा पुस्तौँपुस्ता उपचार गर्न नपाएर मरेका छन् । चित्रबहादुर केसीको शब्द सापट लिएर भन्ने हो भने एम्जिट' खान नपाएर मान्छे मरेको मर्‍यै छन्। विदेश उपचार गराउने नेताहरूको लर्कन लामो छ।

 ओलीले यस्तो बेलामा गरेको सम्बोधन चर्चामा आउन' अस्वाभाविक होइन। तर यसअघि कहिल्यै नसुनिएको ओलीको लिखित सम्बोधन यसपालि सुनियो। सधैँ निर्धक्क बनेर हँसाइ-हँसाइ बोल्ने ओली लिखित सम्बोधनमा जम्न सकेनन्। 

 वास्तवमा लिखित भाषण उनलाई सुहाएन। एउटा भनाइ नै छ, कम्युनिस्ट पार्टीका नेता लेख्न माहिर हुन्छन् तर एमालेका अध्यक्ष लेख्न माहिर होइन रहेछन्। उनको राष्ट्रको नाममा गरिएको सम्बोधन कसले मस्यौदा गर्‍यो ? यतिखेर धेरैले चासो जनाएको देखिन्छ।

ओलीलाई एमालेभित्र कुनै बेला खुरे (खुराफाती) उत्पादन गर्ने मेसिन भनिन्थ्यो। खुरेका सूत्रधार नै थिए ओली भन्ने माधव नेपालहरू नै अहिले खुरे उत्पादन गरिरहेका छन्, जसले माकुराका बच्चाले माउ खाए झैँ ओलीलाई खाइदिएर ओलीको अभियान भड्खालोमा पर्ने हो कि?

ओलीको राष्ट्रका नामको सम्बोधनबारे मिश्रित टीकाटिप्पणी देखिएको छ। विरोध र समर्थन गर्नेहरू आआफ्ना तर्क राखिरहेका छन् । तर रिस राग नराखी भन्ने हो भने ओलीको यो सम्बोधनले उनको 'पोजिसन' लाई स्पष्ट पारेको छ। यसले भारतले गरिरहेको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण पनि गराएको छ। उनले भनेका छन्, 'नेपालको सरकार कुनै पनि देशप्रति कटुता राख्दैन।

 ओलीले स्पष्टसँग सम्बोधनमा भनेका छन्, ‘दक्षिणी सिमानामा भएको अघोषित नाकाबन्दीबाट स्वतन्त्र राष्ट्रको सार्वभौमिकताको सम्मान गरिनुपर्ने, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्तहरू, सार्कको बडापत्र एवं समुद्री कानुनसम्बन्धी राष्ट्रसंघीय महासन्धिले प्रत्याभूत गरेको भूपरिवेष्ठित राष्ट्रहरूको पारवहन अधिकार, नेपाल भारतबीच भएका व्यापार र पारवहन सन्धि एवं दुई देशबीच युगौँ पुरानो मित्रतापूर्ण सम्बन्ध तथा दुई देशका जनताको भावनाको अवमूल्यन उल्लंघन भएको छ। 

 

अग्रिम भुक्तानी भइसकेको पेट्रोलियम पदार्थसमेत आपूर्ति नगर्ने भारतीय आयल निगमको व्यवहारले व्यापार सम्बन्धका सामान्य संहिताको समेत उल्लंघन भएको छ। नेपालको भूभागमा अवरोध भयो भनिएको स्थानबाट मात्र हैन, कुनै सुरक्षा समस्या नभएको स्थानबाट समेत आपूर्ति सुचारु नहुनुले विस्मित तुल्याएको छ। यस स्थितिले नेपाल र भारतबीच रहेको सुमधुर सम्बन्ध अप्रिय भएकोमा कुनै शंका छैन।'

 ओलीले दाजुभाइ दिदीबहिनी भन्दै नेपाल भारतबीचको सम्बन्ध मात्र होइन, नेपालको आन्तरिक र अन्तर्राष्ट्रिय दृष्टिकोण छर्लंग तुल्याएका छन् । नेपालको कूटनीतिक इतिहासमा यो स्तरको 'ब्रेक थ्रु' यसअघि कहिल्यै भएको थिएन। 

 प्रधानमन्त्रीले सम्बोधनका नाममा यो कुरा पूरै देशबासीलाई श्रवण गराएका छन् । तर कुरा के मात्र हो भने श्रवणले मात्र पुग्दैन । यसबारे आमजनतालाई बोध पनि गराउन सक्नुपर्छ। परम्परादेखि सुनाउने काम दुर्गम गाउँघरमा समेत कटुवालले गराइआएकै हुन्। 

 ओली मुलुकका कार्यकारी प्रमुख भएकाले उनले जनतालाई बोध गराउनुपर्छ। किनभने संसदीय व्यवस्थामा सरकार प्रमुख भनेको प्रधानमन्त्री, नेता र अभिभावक हुन्।अहिलेको मुलुकको संकट भारतको असहिष्णुता र कटुताले सिर्जना गरेको हो। 

 भारतीय कर्मचारीतन्त्र, सञ्चारमाध्यम, गुप्तचर, थिंकट्यांक र तोकिएका 'मान्छे' हरूले उनीहरूको तजबीज, रुचि र चाहनामा नेपालको संविधान निर्माणमा उनीहरूको संलग्नता र जस खोजेका हुन्। जसलाई सार्वभौम र कहिल्यै कसैको उपनिवेश नबनेको मुलुकमा सम्भव छैन भनेर ओलीले जनतालाई श्रवण गराए र जनतालाई बोध गराउने प्रयत्न गरिरहेका छन्। 

 यस काममा प्रधानमन्त्री ओलीले एउटा स्पष्ट मार्गदर्शन गराएका छन् तर उनले गर्न नसकेको काम के हो भने उनी प्रधानमन्त्री बनेपछि यो काम अविलम्ब गर्नुपथ्र्यो, किन यति लामो समय?संविधानसभाबाट संविधान आएको आज दुई महिना पुगेको छ तर यसबीचका साठी दिनमा न सुशील कोइराला न त ओली सरकारले संविधानका विशेषता केके हुन् भनेर जनताकहाँ पुग्न सकेनन्। 

 बल्ल दुई महिनापछि कानुन मन्त्रालयले वेभपेजमा संविधानका विशेषता राखेको छ । जबकि सामान्य घरपरिवारमा पनि संकट आउँदा सौतासौताको रिसराग भए पनि हरेकलाई भूमिका निर्वाह गर्न दिइन्छ। कसैलाई विमुख पारिँदैन तर देशमा भने गएको दुई महिना यो हरेकका भूमिकालाई ठप्प पारियो। 

 संविधान निर्माणका क्रममा दुई हप्तामा संविधानबारेका सुझाव जसरी ल्याइयो तर संविधानका विशेषता किन दुई महिनासम्म पनि जनताबीच पुर्‍याइएन ? जनतालाई लोकतान्त्रिक संविधानबारे किन सुसूचित पारिएन ? जबकि सरकारका यिनै कमजोरीबारे मधेसी दलहरू र भारतले खेलिरह्यो। 

 यसैलाई एक पुराना कूटनीतिज्ञले भने, तपाईं मान्नोस् वा नमान्नोस्, चुनाव हारेका मधेसी नेतामार्फत भारत नेपालमा प्रत्यक्ष निगरानी, नियन्त्रण र शासन गर्न चाहन्छ। नाकाबन्दीको मकसदको चुरो यही हो। उनले थप भने, धेरै विद् भनाउँदाहरूको विचार सुन्दा झनक्क रिस उठ्छ मलाई। उनीहरू भन्छन्, भारत नेपालको स्रोतसाधनमाथि नियन्त्रण जमाउन चाहन्छ तर मेरो विचारमा भारत नेपाललाई नै नियन्त्रण गरेर ती सबै कुरा आफ्नो बनाउने दाउमा छ।

 त्यसैले चीनलगायत अन्य मुलुकहरूसँग नेपालको हिमचिम भारतलाई मन परेको छैन। चीनले देखाएको सौहार्द्रता होस् वा अरू मुलुकसँगको निकटता र सम्बन्ध प्रगाढ होला भनेरै भारतले नाकाबन्दी लगाउन खोजेको हो। 

 यो कुरो खोइ ओली सरकारले बुझेको ? किन चीनसँग वार्ता गरेर आठै नाकामा चार लेनको सडक बनाउने समझदारी र सम्झौता गरेको ? यो तत्काल गरिहाल्नुपर्ने काम हो।सम्बोधन त ओलीले गरे। तर उनका सामु व्यवस्थापनको चुनौती खडा भएको छ।

 गोल त ओलीले सम्बोधनमार्फत गरे तर त्यसबाट आएको तरंग अर्थात् खेलप्रेमी दर्शक र खेलाडीमा आएको तहल्कालाई कामद्वारा पुष्टि गर्न सक्नुपरेको छ। यसका लागि व्यवस्थपकीय कौशल भएका व्यक्तिहरूसँग उनको संगत बाक्लिन जरुरी पर्छ। जसले ओलीलाई ०४६ सालको जस्तो गणेशमान, जनयुद्धको जस्तो प्रचण्ड बनाउन सक्छ र ओली गणतन्त्र नेपालकै 'सुप्रिमो' बन्न सक्छन्।

 सिंहलाई सम्पत्ति चाहिएको थिएन, काजीका नाति थिए। सामान्य गाउँलेको छोरो ओली प्रधानमन्त्री बनेका छन्। जबकि सिंहको सुप्रिमो युवराज युवराज्ञीले सुमरिदिए तर ओलीका सुमर्ने औजार नै छैनन् ! ओलीलाई एमालेभित्र कुनै बेला खुरे (खुराफाती) उत्पादन गर्ने मेसिन भनिन्थ्यो।

 खुरेका सूत्रधार नै थिए ओली भन्ने माधव नेपालहरू नै अहिले खुरे उत्पादन गरिरहेका छन्, जसले माकुराका बच्चाले माउ खाए झैँ ओलीलाई खाइदिएर ओलीको अभियान भड्खालोमा पर्ने हो कि? खुरेबाट ओली जोगिन सकेनन् भने चुर्लुम्म डुब्न सक्छन्। 

 तर खुरेहरूले पनि के बुझ्न जरुरी छ भने ओली डुब्यो भने खुरेहरू त्यसभन्दा पहिल्यै डुब्छन् र तिनको नामोनिसान बाँकी रहँदैन किनभने खुरेहरू ओलीको यत्न र आडमा मौलाएका, सल्बलाएका र स्थान पाएका हुन् !

 

प्रतिकृया दिनुहोस

आजको ताजा खबर

Radio Programs

Join Us On Facebook

Follow Us