दक्षिण रिझाउने मनसुवा
01 Oct 2015 | 15:53 PM

राजाराम गौतम

काठमाडौं,१४ असोज ।नेताहरूको राजनीतिक 'करिअर' मा ताली या गाली पाउनु नौलो कुरा होइन। तर नेपाली राजनीतिको अनौठो प्रवृत्ति के छ भने यहाँ कुनै नेता रातारात लोकप्रिय र प्रख्यात हुन्छ अनि अर्को सन्दर्भ आउँदा त्यही नेता अलोकप्रिय र कुख्यात ठहरिहाल्छ। 'देवत्वकरण' 'दानवीकरण' गर्न हाम्रो समाज साह्रै हतारिन्छ।

 सन्दर्भ, पूर्व एमाओवादी नेता तथा हालका 'स्वतन्त्र व्य'क्ति डा. बाबुराम भट्टराईको हो। भट्टराई तिनै नेता हुन्, जो पछिल्लो एक दसकको राजनीतिक परिदृश्यमा सबैभन्दा बढी 'लोकप्रिय' कहलिएका थिए। ०६२/६३ को आन्दोलनपछिका परिदृश्यहरूमा गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डमूलतः राजनीतिका प्रमुख आकर्षण रहे। 

 कोइराला रहुञ्जेल नेपाली राजनीतिका मियो उनै थिए। उनको मृत्युपश्चात् दाहालले त्यो स्थान केही हदसम्म लिए । पछिल्लो डेढ÷दुई वर्षमा एमाले अध्यक्ष केपी ओली बढी प्रभावी देखिए। कोइराला, दाहाल या ओली समयअनुसार, भूमिकाको हिसाबले प्रभावशाली देखिए पनि लोकप्रिय नेताको        श्रेणीमा परेनन्, तर भट्टरार्ईले एक समय लोकप्रियता कमाएकै हुन्।

 

राजनीतिक 'स्टन्ट' नै गरेर भए पनि भट्टरार्ई अरू नेताभन्दा केही पृथक् देखिन खोजे, अर्थमन्त्री हुँदै प्रधानमन्त्री हुँदासम्म। प्रधानमन्त्री हुदाका सुरुआती दिनमा बाबुरामको प्रशंसामा यति धेरै शब्द खर्चिए, सायदै त्यस्तो सौभाग्य अरू कुनै समकालीन नेताले पाएका हुन्। 

 'मुस्ताङ म्याक्स' सँगै लोकप्रियताको सिँढी उक्लिन थालेका उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र काठमाडौँका सडक विस्तार गर्ने जुन काम गरे, त्यसको मुक्तकण्ठले सबैले प्रशंसा गरे। मिडियाले त प्रधानमन्त्री भएको सुरुआती दिनमा भट्टराईलाई 'सफ्ट कर्नर' मा राखेकै हुन्।

 माओवादी आन्दोलनका एउटा मुख्य 'ब्रेन' भनेर चिनिएका भट्टराईले विद्रोही दललाई शान्तिपूर्ण रूपान्तरणमा ल्याउन भूमिका खेलेको, पार्टीलाई संविधानसभाको पक्षमा ल्याएको र बाह्रबुँदे समझदारी निर्माणमा भूमिका खेलेको आदि 'क्रेडिट' पाएका थिए। त्यसमाथि पढाइमा अब्बल र पीएचडी गरेको पृष्ठभूमि आदि कारण सायद नेपाली मिडिया, समाज उनीसित अपेक्षा पनि राख्थ्यो। तर प्रधानमन्त्रीत्वकाल लम्बिँदै जाँदा उनको 'क्रेज' घट्दै गयो।

 झन् प्रधानमन्त्री भएकै बेला देशको चाबी अन्यत्रै रहेछ', 'देशै मर्ज, सब मर्ज हुन सक्छ' आदि विवादास्पद अभिव्यक्ति दिन थालेपछि उनको साख स्वात्तै घट्यो। पत्‍नी हिसिला यमी र क्याबिनेट मन्त्रीहरूका आर्थिक चलखेलका प्रसंग जोडेर उनको व्यापक आलोचना हुन थाल्यो। त्यसमाथि संविधानसभा विघटन भएपछि त झन् उनीमाथि गम्भीर आरोप नै लाग्यो।

 त्यति मात्रै होइन, उनीमाथि लाग्दै आएको 'भारतपरस्त' नेताको बात अझ चर्को स्वरमा लाग्न थाल्यो। 'जनयुद्ध' कालमै उनीमाथि 'भारतपरस्त' नेताको आरोप लाग्ने गथ्र्यो। शान्तिकालमा पनि उनीमाथि भारतपरस्त भएको आरोप पार्टीभित्रैबाट लाग्दै आएको थियो। 

 अध्यक्ष प्रचण्डले त 'भारतले बाबुरामलाई प्रधानमन्त्री बनाउन दबाब दिइरहेको छ' भनेर कार्यकर्ता भेलामै बोले। उनले त्यसो भनेको केही महिनापछि उनी प्रधानमन्त्री पनि भए।

 २०६८ भदौमा प्रधानमन्त्री हुँदा दक्षिण छिमेकको आशीर्वाद उनले पाएकै हुन् भन्ने धेरैले नबुझेका होइनन्, तर उनीप्रतिको एउटा बेग्लै आशा र अपेक्षा भएकाले सुरुआती दिनमा उनीमाथि त्यतिसारो टीकाटिप्पणी भएन। तर यतिबेला उनको त्यो प्रतिष्ठा माटोमै मिलेको छ। 

 भारतपरस्तनेताको आरोप खेप्दै आएका उनको प्रमोसन भएर परिचयमा 'भारतीय दलाल' को उपमा जोडिन थालेको छ। जुन परिवेशमा उनले एमाओवादी परित्याग गरे, समग्र प्रक्रियाबाटै बाहिरिएको सन्देश दिए, त्यसले उनको नियतमाथि संशय पैदा गरेको छ।

 पार्टीभित्र सांगठनिक हिसाबले कमजोर रहनुपर्ने अवस्थाका कारण उनी एमाओवादीबाट कुनै पनि बेला अलग्गिन सक्ने अनुमान नभएको होइन, तर पार्टी परित्याग गर्ने जुन समय रोजे, त्यसले उनको कदमको चर्का आलोचना भएको छ र यसलाई रहस्यमय ढंगले हेरिएको छ। हठात् कम्युनिस्ट पार्टीको साधारण सदस्यसमेत त्याग्ने यस निर्णय भारतीय स्वार्थ र इशारामा भएको भनेर आरोप पनि लागेको छ।

 आखिर किन छोडे बाबुरामले एमाओवादी? के भारतीय इसारामै चल्ने एक 'कठपुतली' नेता हुन् उनी? के होला उनको राजनीतिक भविष्य? थुप्रै प्रश्न बाबुराम बहिर्गमनले उब्जाएका छन्।

 बाबुरामले पार्टी छोड्नुको मुख्य कारण हो, एउटा राजनीतिक दलको 'फस्ट म्यान' हुने महत्वाकांक्षा। प्रचण्डलाई विस्थापित गरेर नेतृत्वमा पुग्ने सांगठनिक आधार बाबुरामले पार्टीमा कहिल्यै जुटाउन सकेनन्। पार्टीको वैचारिक नेता भए पनि सधैँ 'सेकेन्ड म्यान' हुनुपर्दाको हीनताबोध र पीडा भट्टरार्ईमा थियो।

 पार्टीभित्रै संघर्ष गरेर फस्ट म्यान हुनसक्ने उनको चाहना त्यतिखेर पूरा हुन्थ्यो, जतिखेर स्वयं प्रचण्ड उनीमाथि दाहिना हुन्थे । प्रचण्डले यदाकदा नेतृत्व छोड्ने छनक दिए पनि छोडिहाल्ने मनस्थिति नदेखेपछि बाबुराम छट्पटिएका थिए। त्यो छट्पटाहट कहिले नयाँ शक्ति निर्माणको बहसमा पोखिन्थ्यो त कहिले पार्टीभित्रका मतभेदहरूमा।

 पछिल्लो समय पार्टी परित्यागको घोषणा उनको त्यही बेचैनी र छटपटाहटको उत्कर्ष थियो।तर के पार्टी परित्याग गर्ने समय हो यो? नयाँ राजनीतिक शक्ति नै निर्माण गर्ने हो भने पनि अहिलेको परिस्थितिमा उनका कुरा बिक्ला?यस प्रश्नको विश्लेषण दुइटा कोणबाट गर्न सकिन्छ। 

 बाबुरामको कोणबाट हेर्ने हो भने उनले यो समयलाई आफ्नो राजनीतिक भविष्यका लागि भरपूर उपयोग गर्न सकिन्छ भनेर छनोट गरेको देखिन्छ । यो बेला पार्टी छोड्दा संविधान निर्माणसँग असन्तुष्ट पंक्ति, समूह, समुदाय, व्यक्तिहरूको समर्थन लिन सकिन्छ भनेर एकातिर उनले सोचेका हुन सक्छन् भने अर्कोतर्फ दक्षिण छिमेक भारतलाई रिझाउने उपयुक्त अवसर पनि ठानेका हुन सक्छन्।

बाबुरामले एकातिर संविधानसँग असन्तुष्ट पंक्ति, समूह, समुदाय, व्यक्तिहरूको समर्थन लिन सकिन्छ भनेर सोचेका हुन सक्छन् भने अर्कोतर्फ भारतलाई रिझाउने उपयुक्त अवसर पनि ठानेका हुन सक्छन् ।

नेपालको संविधान निर्माणको पछिल्लो विकासक्रममा भारत यहाँका नेताहरूसँग चिढिएको थियो। ऊ संविधान निर्माणलाई केही धकेल्न चाहन्थ्यो। बाबुराम सम्पूर्ण प्रक्रियामा सामेल थिए सँगै उनी पनि मधेसी÷थरुहटको आन्दोलनलाई सम्बोधन गरेर जानुपर्छ भन्थे र जारी गर्ने मिति लम्ब्याउन चाहन्थे। 

 तर सभाको ठूलो मतले लोकतान्त्रिक विधिबाट संविधान बन्ने भइसकेपछि उनको केही लागेन। भारत थप असन्तुष्ट भयो र कूटनीतिक मर्यादा, अन्तर्राष्ट्रिय कानुनको अवहेलना गर्दै नेपालमाथि खनियो, अघोषित नाकाबन्दी गरेर । संविधान जारी नहुँदै मधेसी अतिवादीहरूले झैँ विखण्डनको जोखिम देखेका बाबुराम अन्ततः त्यही हुलमा मिसिन पुगे।

 बाबुरामको भारतीयहरूसँग सम्बन्ध, सम्पर्क राम्रो छ। उतै पढेबढेका उनका शुभेच्छुक पनि धेरै छन्। उसै त नेपालमा राजनीतिमा टिकिरहनका लागि भारतीयहरूसँगको सम्बन्ध दह्रो हुनुपर्छ भन्ने मनोविज्ञान छ। त्यसमाथि बाबुरामले अरू शीर्ष नेता तहसँगको सम्बन्धमा चिसोपना आएको मौकामा 'भारतमुखी' निर्णय गर्दा त्यो आफ्नो दीर्घकालीन राजनीतिका लागि लाभदायक हुन सक्ने ठानेका हुन सक्छन्।

 उनको अर्को ठम्याइ, संविधान निर्माणपछि मधेसी नेताहरूसँगको द्वन्द्व निरूपणमा आफ्नो भूमिका हुन सक्ने पनि उनको आकलन हुन सक्छ । जनकपुरमा गएर उनले म समन्वयकर्ताको हिसाबले आएको भन्नुको अर्थ सायद त्यही हो।

 आवरणमा देखिएको मधेसी आन्दोलन र भित्रभित्रै बढ्दो भारतसँगको दूरी कम गर्ने भूमिका निर्वाह गर्ने सोचले पनि उनलाई अलग्गिन प्रेरित गरेको होला। यसो गर्दा मधेसीलगायतका संविधान निर्माणसँग असन्तुष्ट जमातको समर्थन आफूले पाइरहने र दक्षिण दाहिना भइरहने उनले सोचका हुन सक्छन्।

 अर्को कोणबाट हेर्दा, बाबुरामले पाउनेभन्दा बढी गुमाउँदै जाने सम्भावना अधिक छ। निश्चय पनि, नेपाली राजनीतिमा भारतीय आशीर्वाद पाएका व्यक्तिहरू बेलाबखत सत्तामा पुग्छन् तर स्वदेशी जनमतबिना नै कुनै पनि व्यक्ति बाह्य समर्थन र आशीर्वादको जगमा सधैं सत्तामा रहिरहन सक्दैन। बाबुरामको राजनीतिप्रति आकर्षित सहरी मध्यमवर्गीय जमातरातारात बाबुरामविरोधी भइसकेको छ।

 आगामी दिनमा बाबुरामसँग उनले जे गर्दा पनि सही देख्ने केही माओवादी नेता, कार्यकर्ताबाहेक, एकाध व्यावसायिक व्यक्तिहरू जोडिन सक्छन् । एमाओवादीको औचित्य नदेख्ने उनले पार्टीको स्थापना गरे पनि त्यो कम्युनिस्ट सिद्धान्तमा आधारित नहुने प्रस्ट छनक आइसकेको छ। 

 उनले आर्थिक समृद्धिलाई जोड दिँदै पार्टी खोल्ने संकेत गरेका छन्। त्यस्तो पार्टीको संगठन कसरी बन्छ, त्यसको नीति, सिद्धान्त के हुन्छ?  नीति, उद्देश्य, संगठनको खाका नहेरी अहिल्यै त्यसबारे टिप्पणी गर्नु अपरिपक्व हुन्छ। 

 यद्यपि केचाहिँ भन्न सकिन्छ भने कदाचित बाबुरामले केजरीवाललाई पछ्याउन खोजेका हुन् र गैरराजनीतिक र व्यावसायिक व्यक्तिहरूको गठजोडमा नयाँ शक्ति निर्माण गर्न लागेका हुन् भने अहिलेको सन्दर्भमा त्यसले राजनीतिक औचित्य सिद्ध गर्न सक्ने देखिँदैन। 

 पार्टी परित्यागको घोषणालगत्तै जसरी उनीमाथि चर्को आलोचना भइरहेको छ, त्यसबाट उनको 'मुभ' गलत भएको अधिकांशको ठम्याइ छ। यो बेला उनलाई विश्वास गर्ने जनमतको साँच्चिकै अभाव हुनेवाला छ। तर राजनीति अनेक सम्भावनाको खेल हो। 

 केही अघिसम्म 'गाली' पाउने प्रचण्ड अहिले तालीका गड्गडाहट सुनिरहेका छन् भने एउटा समय 'रोलमोडल' मानिएका नेता बाबुरामको भागमा गाली नै गाली परेको छ। आखिर नेताको जीवन भनेकै ताली र गालीको सम्मिश्रण न हो।

 

प्रतिकृया दिनुहोस

आजको ताजा खबर

Radio Programs

Join Us On Facebook

Follow Us