कालो बादलमा चाँदीको घेरा
14 Apr 2015 | 00:00 AM

राजाराम गौतम, काठमाडौं ।

छापा पत्रकारितामा झण्डै दुई दशक विताएर रेडियो पत्रकारितामा आवद्ध भएका पछिल्ला तीन महिना स्वजन, शुभेच्छुक अनि सहकर्मीहरुले मुलत एउटै प्रश्न गरे, रेडियोका श्रोता नै घटिसके, किन रेडियोमा गएको ?  रेडियो अन्नपूर्ण नेपालको प्रसारण तयारी गर्दैगर्दा स्वजन र सहकर्मीका प्रश्नले घोचिरह्यो । के नेपालमा रेडियो पत्रकारिता र प्रसारण सेवा साँच्चिकै कमजोर भएका हुन् ? किन रेडियोको आकर्षण घटेको मनोविज्ञान बन्दैछ ? आम सञ्चारमा आएका नयाँ नयाँ आयाम र विकासले रेडियोलाई छायामा पारेको हो ? यस्ता अनेक प्रश्न उठ्दै गर्दा त्यसमा थप विमर्स आवश्यक भएको छ ।

निश्चय पनि सूचना प्रविधिमा आएको विकाससंगै आम सञ्चारले फड्को मारेको छ । आम मानिसमा सूचनाको पहुँच सहज बनेको छ र सूचना प्राप्तिका बहु–स्रोतहरु उपलब्ध छन् । अत्याधुनिक मोबाइल, इन्टरनेटको पहुँचले सूचना र मनोरञ्जनका लागि अब आम मानिसले रेडियो, पत्रपत्रिका वा टिभीको मात्रै सहारा लिनु पर्दैन । परिवर्तित यो सन्दर्भले रेडियोलाई पनि प्रभावित गरेको छ । तर त्यो प्रभाव कुन स्तरमा छ त ? के हामीले त्यसको बस्तुनिष्ठ अनुसन्धान र लेखाजोखा गरेका छौ ? तीन करोडको आवादी भएको मुलुकमा हामी सबै मोबाइल र इन्टरनेटको सेवा सुविधा लिने हैसियतमा पुगिसक्यौं ? वा मोबाइल र इन्टरनेटको पहुँच भएको जमातको लागि रेडियोको औचित्य सकिएकौ हो ?

धेरै पुरानो इतिहास होइन, मात्र साढे ६ दशक भयो, नेपालमा रेडियो सेवा शुरु भएको । जतिबेलासम्म रेडियो नेपालको ‘एकछत्र राज्य’ थियो । मानिसका लागि सूचनाको मुख्य स्रोत नै त्यही थियो । २०४६ सालको राजनीतिक परिवर्तनले सञ्चार क्षेत्रलाई रुपान्तरण गऱ्यो । रेडियो सेवाको विस्तार त्यसैक्रममा भएको छ । सरकारले नीजि र सामुदायिक क्षेत्रलाई रेडियो सेवा सञ्चालन गर्ने अनुमति दिएपछि एफएम सेवाको विस्तार भएको हो । एफएम सेवाको विस्तारले आम मानिसमा जबर्जस्त रुपमा सूचनाको पहुँच स्थापित गऱ्यो । तर ‘चिनी पनि धेरै खाँदा तीतो हुन्छ’ भनेझै एफएम रेडियो यो विघ्न विस्तार भयो कि, त्यसले आफ्नो गुणस्तर कायम राख्नै सकेन । नेपाली समाज र बजारले थेग्नै नसक्ने संख्यामा वृद्धि भयो । त्यसकारण रेडियोको उपादेयता सकिएको होइन, आकर्षण घटेको हमाो र आकर्षण घट्नुमा हाम्रा आफ्नै कारण दोषी छन् ।

६ सय भन्दा बढि रेडियो अहिले मुलुकभर सञ्चालित भएको सरकारी तथ्याङ छ । के यो मुलुकका लागि यतिधेरै संख्यामा रेडियो आवश्यक छ ? यसको सञ्चालन र गुणस्तरीय कार्यक्रम निर्माण गर्न हामीसंग पर्याप्त जनशक्ति छ ? साधन स्रोत छन् ? निश्चय नै छैनन् । रेडियोको संख्या त यसवीचमा ह्वात्तै बढ्यो तर त्यसले निर्माण गर्ने कार्यक्रमहरु, प्रस्तुतीहरुले श्रोतामा आकर्षण पैदा गर्न सकेन । व्यावसायिकताका नाममा विभिन्न स्वार्थ समूह, राजनीतिक आग्रहका लागि रेडियोहरु सञ्चालित हुन थाले । जसले गर्दा रेडियो दिनप्रतिदिन शिथिल हुदै गएका हुन् ।

संख्या धेरै हुदा अस्वस्थ्य प्रतिस्पर्धा बढ्यो । दक्ष र तालीमप्राप्त जनशक्तिको अभावले रेडियो उत्पादनहरु प्रभावित भए । विज्ञापन बजारको सानो अंश मात्रै ओगट्ने रेडियोहरु बिज्ञापन बजारबाटै पनि अपहेलित भए । व्यावसायिकता र निष्पक्षता भनिएपनि विभिन्न खाले राजनीतिक आग्रहको पक्षपोषण गर्ने एउटा माध्याम बन्न गयो, रेडियो । स–साना नाङ्ले पसल थापेजस्तै गरी एफएम सञ्चालन गरेर यसको मानमर्दन गरिए । आफ्नै कारणले शिथिल रेडियोहरु लोडसेडिङको मारमा पनि उत्तिकै परे । सारमा रेडियो सेवाले यतिबेला सीमित बजार, राजनीतिकरणको मार, दातामा आश्रित हुनुपर्ने बाध्यता, अस्वस्थ्य प्रतिस्पर्धा,सरकारी नियमन र अनुगमनको अभाव आदि थुप्रै समस्या खेप्नुपरेको छ । तथापि रेडियोको श्रोता नै छैनन् भनेर निराश हुनुपर्ने अवस्था भने छैनन् । रेडियो क्षेत्रमा उत्पन्न कति समस्या सरकारको कमजोरीका प्रतिविम्ब हुन् भने कति रेडियाकर्मीकै  । त्यसकारण सञ्चार क्षेत्रमा कार्यरत लगानीकर्ता, रेडियोकर्मी आदिले आ–आफ्नो कमजोरी खुट्याउदै त्यसलाई सुधार्दै लैजाने हो भने आज पनि रेडियोप्रतिको आकर्षण बढाउन सकिन्छ । शिथिल हुदै गएको रेडियोलाई नया जीवन दिन सकिन्छ । यस्तै निष्कर्ष सहित रेडियो अन्नपूर्ण नेपालको प्रसारण शुरु भएको छ । रेडियो क्षेत्र समस्यै समस्याले थलिएका बेला कालो बादलमा चाँदीको घेरा बनेर आएको छ, रेडियो अन्नपूर्ण नेपाल ९४ मेघाहर्ज ।

नेपाली समाज, बजार एकाध सञ्चार संस्थाको ‘एकाधिकारवाद’को चेपुवामा परेको छ । व्यावसायिकताका नाममा सीमित वर्ग, व्यक्ति वा संस्थाकै अधिपत्य चलेको छ । जबसम्म ‘मिडिया मोनोपोली’ कायमै हुन्छ, बजारमा एउटा निश्चित समूहको बर्चश्व रहिरहन्छ, त्यसो हुँदा मिडिया कन्टेन्टहरु प्रभावित हुन्छन् र त्यसले आम श्रोता, पाठक वा दर्शकमाथि न्याय हुनसक्दैन । रेडियोको हकमा पनि यतिबेला एकाध रेडियोहरुकै वर्चश्व छ । बजारले रेडियो सामाग्रीका आधारमा भन्दा ‘ब्रान्ड’ का रुपमा रेडियोहरुको पहिचान गरेको देखिन्छ । बजार आफू अनुकुल बनाउने उदेश्यले विभिन्न स्वार्थ समूहले रेडियोका विषयवस्तुमाथि अनुसन्धान गरेको भनेर विभिन्न निष्कर्ष बाहिर ल्याएकै आधार रेडियोहरुको हैसियत निर्धारण हुने प्रवृत्ति नेपाली रेडियो बजारमा बढि नै रहेको पाइन्छ । त्यसकारण आगामी दिनमा रेडियोहरुको कार्यक्रम र प्रसारणलाई लिएर बस्तुनिष्ट अनुसन्धान हुनु आवश्यक देखिन्छ । त्यसो हुन सके मात्रै रेडियोका श्रोता के कति घटे ? कुन रेडियोले के कस्ता सामाग्री प्रस्तुत गर्न सकेको छ ? त्यसको प्रभाव के छ भन्ने सही निष्कर्ष निस्कन्छ । बजार प्रभावित हुने गरी भएका अनुसन्धानका निष्कर्ष आउने र बजार पनि परम्परागत रुपमै अघि बढ्ने हो भने नेपालमा रेडियो प्रति आकर्षण बढाउने विषय चुनौतीकै रुपमा रहिरहन सक्छ ।  

एउटा सशक्त र बलियो बैकल्पिक मिडियाको खाँचो समाजले यतिखेर महसुस गरेको छ । ठूला भनिएका सञ्चार गृहहरुको प्रभाव खस्कदो छ र जनमत निर्माणमा न्यूज पोर्टलहरुले नै चुनौती दिन थालेको अवस्थामा बैकल्पिक मिडियाको सम्भावना बढेर गएको छ । यस्तै सम्भावनाहरु माझ अन्नपूर्ण मिडिया गु्रप अघि बढेको छ । रेडियो अन्नपूर्ण नेपाल, त्यस्तै सम्भावनाको एउटा कडी बन्न सक्ने विश्वास लिएका छौं । निकट आगतका दिनहरुमा आफ्नो क्षेत्र विस्तार गर्दै जाने लक्ष्य लिएर बढेको अन्नपूर्ण मिडिया गु्रपसंग सम्बद्ध रेडियो अन्नपूर्ण नेपालको प्रसारण आजैबाट शुरु भएको छ । रेडियो अन्नपूर्णले सबै तह र तप्काका जनसमुदायमा पुराउने उदेश्य राखेर खबर, सूचनामूलक कार्यक्रम र संगीत तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण शुरु गरेको छ । आम श्रोतामाझ सबैभन्दा छिटो खबर प्रसारण गर्ने, घटनाको गहिरो विश्लेषण र खोजमूलक रेडियो रिपोर्टहरु रेडियो अन्नपूर्णमा सुन्न सकिनेछ । त्यस्तै समसामयिक विषयहरुमा तिखा सवाल गरेर प्रस्ट जवाफ खोज्ने हाम्रो प्रयास जारी रहन्छ । तीन दशक वीवीसी नेपाली सेवामा काम गरेको अनुभव भएका बरिष्ठ पत्रकार सुशील शर्माले नेपाल किन बन्न सकेन भन्ने विषयमा छेड्ने बहस त्यत्तिकै महत्वपूर्ण हुनेछ ।

निश्चय पनि रेडियो प्रति विकर्षण बढेको हो । यसका श्रोता पनि केही घटेका होलान तर रेडियो सेवा नै कमजोर भएको भनेर विश्लेषण गर्नु चाहि एकांकी हुन्छ । अहिले रेडियो कमजोर भएको होइन । यसका प्रस्तुती र उत्पादनहरु कमजोर भएका हुन् । रेडियोकै सूचना, समाचार र मनोरञ्जनमा आश्रित ठूलो जमात नेपालमा अहिले पनि छ । विगतमा ठूलो ट्रान्जिस्टर बोकेर बाटोघाटोमै रेडियो बज्थ्यो भने अहिले हात हातमा भएका मोबाइलमा रेडियो बज्छ । रेडियोहरुको बेवसाइटमै रेडियो बज्छ । यात्रा गर्दा गाडीमै रेडियो बज्छ । त्यसकारण रेडियो सामाग्रीको उत्पादन र प्रस्तुतीमा गुणस्तर र आकर्षण बढाउन यतिबेलाको हाम्रो मुख्य दायित्व हो । यस्तै दायित्व बोध सहित रेडियो अन्नपूर्ण नेपाल ९४ मेघाहर्ज आम श्रोता माझ गुञ्जिन थालिसकेको छ । ट्यून गर्न नभुल्नु होला ।

लेखक रेडियो अन्नपूर्ण नेपालका स्टेशन म्यानेजर हुन् ।

 

 

प्रतिकृया दिनुहोस

आजको ताजा खबर

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us