संघर्ष कि समर्पण?
13 Apr 2015 | 00:00 AM

युवराज गौतम, २०७१ चैत्र ३० 
प्याट्रिस लुमुम्बाले बेल्जियमबाट कंगोलाई स्वाधीन बनाउन ठूलो संघर्ष गरे। राष्ट्रिय स्वाभिमानसँग सम्झौता नगर्ने प्रण गरे। एउटा सामान्य गरिब मजदुर राष्ट्रिय नेता भए। 
 
३६ वर्षकै उमेरमा उनको हत्या भयो। बेल्जियमका लेखक लुडोले लेखेको पुस्तकमा राष्ट्रसघ र सीआईए मिलेर लुमुम्बाको हत्या गरेको आरोप लगाएका छन्।

 
सीआईएले मोबुतुलाई स्थापना गरेर ३२ वर्ष तानाशाही पद्धतिको समर्थन गर्‍यो। कंगोका हीरा र बहुमूल्य रत्नहरू विदेशीले ओसारिरहे। कंगो आज पनि कंगाल र अशान्त छ। 
 
राष्ट्रसंघले त्यहाँ ५५ वर्षसम्म शान्तिका लागि लगानी गर्‍यो कि भ्रान्ति, अशान्ति अन्योल र अस्थिरताका लागि? त्यसैले, राष्ट्रसंघ जहाँजहाँ सक्रिय हुन्छ, त्यहाँ स्थिरता र शान्ति हराउँदै गएका धेरै उदाहरण छन्। सर्वमान्य भनिएको विश्व संस्था अमेरिकाको इसारामा छमछम नाचिरहेको छ।
 
राष्ट्रवादका पक्षमा निर्भीकतापूर्वक उभिन खोज्नेहरू साम्राज्यवाद र विस्तारवादका सिकार बन्छन्। राजा वीरेन्द्रको हत्या र मदन भण्डारीको रहस्यमय मृत्यु (??) यसको उदाहरण हो। 
 
२०५० साल जेठ ५ गते राजा वीरेन्द्रले दिएको समवेदना सन्देशमा मदन भण्डारीका बारेमा भनेका थिए- उहाँको निधनमा देशले एक समर्पित राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञ गुमाएको छ। 
 
अर्थात् मदन भण्डारीलाई राजा वीरेन्द्रले नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता (महासचिव) मात्र होइन, प्रखर राष्ट्रवादी र सिद्धान्तवादी मानेका थिए। मदन भण्डारी पनि राजा वीरेन्द्रप्रति सकारात्मक थिए।
 
२०५७ सालको फागुनको राजा वीरेन्द्रले चीन भ्रमण गरे। बोआओ फोरमको बैठकमा उनी विशेष अतिथिका रूपमा सहभागी भए। कुनै पनि विदेशीलाई आफ्ना घरमा नलैजाने चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले राजा वीरेन्द्रलाई सांघाईस्थित निजी घरमा लगे। त्यहाँ पारिवारिक वातावरणमा नाचगान पनि भयो। 
नेपाल शक्तिभूमि हो। ज्ञानभूमि हो। शिव र बुद्ध पुज्य हुनुको कारण यही हो। शक्तिको साधना गर्ने शाक्त हुन् नेपाली। बुद्धलाई महामानव मान्छन् नेपाली। नेपाली जनता कोदो र फापर खाएर पनि लडाइँ गर्छन्। मातृभूमिप्रति घात गर्दैनन्। जात, धर्म र सम्प्रदायमा विभाजित भएर राष्ट्रलाई कमजोर बनाउँदैनन् संघर्ष गर्छन्, समर्पण गर्दैनन्।
चीनका राष्ट्रपतिसँग राजा वीरेन्द्र पनि नाचे। २०५८ साल जेठ ३ गते राजा वीरेन्द्र तथा चिनियाँ प्रधानमन्त्री झु रोङजीबीच काठमाडौंमा वार्ता भयो। 
 
भनिन्छ- नेपाललाई आत्मनिर्भर बनाउन राजा वीरेन्द्रले चीनसमक्ष केही प्रस्ताव राखेका थिए। ती सबै कुरा दरबारभित्रैका राष्ट्रघातीहरूबाट बाहिर पुग्यो। त्यसपछि राजा वीरेन्द्रको रहस्यमय हत्या भयो।
 
समर्पणको बाटो एउटै हुन्छ- लम्पसार। विदेशी शक्तिका सामुन्ने नेपालका दलहरू आज लम्पसार र नतमस्तक छन्। विदेशीजति सबै मित्र-मित्र, बाहिरै बस नपस भित्र भन्ने कोही भएनन्। 
 
भारत, चीन, अमेरिका वा युरोपेली राष्ट्रहरू नेपालमा आफ्नै प्रभाव बनाउन चाहन्छन्। भारतीयहरू नेपाली सेनालाई ब्रदर आर्मी भन्छन्। त्यो भनेको दाजुसेना होइन, भाइसेना नै हो। पहिलेको शाही सेना भाइसेना भइसक्यो भन्ने उनीहरूले सोच छ। 
 
झन्डै पाँच सय वर्ष पुरानो नेपाली सेनाको तुलनामा भारतीय सेना ठूलो छ तर नेपाली सेनाभन्दा त्यो कान्छो हो। सन् १९४७ मा स्वतन्त्र भएपछि मात्र भारतीयले आफ्नो राष्ट्रिय झन्डा र मुद्रा देखेका हुन्। 
 
झन्डै एक हजार वर्षसम्म उनीहरू विदेशीका दास थिए। नेपाली जनता कहिल्यै पनि विदेशीका दास भएनन्। कहिल्यै आत्मसमर्पण गरेर हामीले विदेशीको झन्डालाई सलाम गर्नुपरेन। त्यसैले संघर्ष गरेर बाँच्ने कि विदेशीको पैताला चाट्ने? युवा पुस्ताले अब निर्णय गर्नुपर्छ। 
 
राष्ट्र बचाउने हो भने राजनीति, कूटनीति, प्रशासनलगायतका क्षेत्रबाट विदेशीका सेवकहरूलाई तत्काल बर्खास्त गर्नुपर्छ। राष्ट्रवादी शिक्षित र योग्यहरूले राष्ट्रको बागडोर सम्हाल्नुपर्छ। नत्र केही वर्षमै विश्व मानचित्रबाट नेपाल राष्ट्रको अस्तित्व समाप्त हुनसक्छ।
 
प्लेखानोभ क्रान्तिकारी भएर पनि मेन्सेभिक थिए। उनी भन्थे- राष्ट्रियता बिर्सेर राजनीति हुँदैन। अक्टोबर क्रान्तिका नाममा कम्युनिस्टहरूले रूसको इतिहास नै धुलिसात् बनाउन थालेपछि उनले क्रान्तिको विरोध गरे। 
 
उग्र कम्युनिस्टहरूसँग पार्टीले सहकार्य गरेपछि कृष्णप्रसाद भट्टराईले शरीर त्यागिन्छ तर सिद्धान्त त्याग्न सकिँदैन भनेर बीपी कोइरालाकै चिन्तन सही छ भन्दै गिरिजाप्रसाद कोइरालाको आलोचना गरेझैं प्लेखानोभले लेनिनलाई चुनौती दिए। 
 
रूसी माक्र्सवादका संस्थापक भनेर चिनिएका प्लेखानोभले लेनिनको ह्वाट इज टु बी डन भन्ने पुस्तकको जवाफमा ह्वाट इज नट टु बी डन ग्रन्थ लेखे। सिद्धान्तमा सम्झौता हुँदैन भन्ने उनको प्रबल तर्क थियो। 
 
यस्ता उदाहरणको अर्थ हो, अवसरवादी हुन सजिलो छ तर सिद्धान्त, स्वाभिमान र सत्यमा अडिन गाह्रो छ। दु:खकष्ट, असफलता, पीडा, अभाव सबै खप्नुपर्छ। दुर्भाग्यको कुरा, आजका राजनीतिज्ञहरू सिद्धान्त र स्वाभिमानका सबालमा शीघ्र पतनका रोगी ठहरिएका छन्। पतीत बनेका छन्।
 
भारतसँग बंकर युद्ध गर्छौं भनेर धाक दिनेहरूको सक्कली अनुहार देखियो। धाकभन्दा धक्कु ठूलो, हिँड्न थाल्यो खुट्टा लुलो भनेझैं बंकरको कुरा गर्नेहरू बैंकर बनेका छन्। अर्बपति भएका छन्। 
 
किसान-मजदुरलाई सडकमा उफारेर महलको बार्दलीबाट सिठी बजाइरहेका छन्। राजनीति भनेको करोडौं रुपैयाँ सजिलै कमाउन सकिने सहज उद्योग भएको छ। अराजकतामा त्यो झन् फस्टाउँछ।
 
अल्बर्ट आइनस्टाइनको वाणी छ- विगतबाट पाठ सिकेर आगतप्रति आशावादी हुँदै वर्तमानमा बाँच्नुपर्छ। महत्त्वपूर्ण कुरा के हो भने कर्मशील बन्नुपर्छ।
 
 यात्रा अवरुद्ध हुनु हुँदैन। राष्ट्रलाई हिजोभन्दा धेरै सुन्दर बनाउँछौं भन्नेहरू किन पाँच-सात वर्षमै अमलेखगन्जमा चन्द्रशमशेरले पुनर्बास गराएका करिया जस्ता बन्न पुगे? अमेरिकामा सन् १७७६ पछि रिपब्लिकन दलका समर्थकहरूले ब्रिटेनको प्रभावबाट मुक्त हुने प्रयत्न गरे, नेपाली रिपब्लिकनहरू कसरी विदेशीको दास बन्ने भनेर कुदेका छन्।
 
चाल्र्स डार्विनको स्ट्रगल फर एक्जिस्टेन्स सिद्धान्त प्रतिपादन हुनुभन्दा हजारौं वर्ष अघिदेखि हाम्रा पुर्खाले अस्तित्व रक्षाको निम्ति लडाइँ गर्दै आएका थिए। लेभियाथान (सन् १६५१) लेख्ने थोमस हब्सले भनेका छन्- प्रत्येक मान्छेले प्रत्येक मान्छेविरुद्ध संघर्ष गर्छ।
 
वास्तवमा जीवन संघर्षमय छ। प्राकृतिक विपत्ति, युद्ध, सरुवा रोग, अनिकाल, विदेशी हमला आदि हजारौं प्रहार सहेर पनि हाम्रा पुर्खाले नेपाली माटोमा विदेशी झन्डा गाड्न दिएनन्। नेपाली राष्ट्रवादको सबैभन्दा ठूलो उपलब्धि यही हो। 
 
विदेशीले नेपाल कब्जा गरे भने भन्सार छुटमा राम्रा-राम्रा गाडी चढ्न पाइन्छ भन्नेहरू मूर्ख मात्र छैनन्, उच्चपदस्थ नेता, कर्मचारी र व्यापारी पनि छन्। उनीहरूलाई थाहा छैन, नेपालमा विदेशी पसे भने यहाँका व्यापार, उद्योग, कृषि, खानी, जलस्रोत सबै कब्जा गर्नेछन्। 
 
नेपालीका छोरीचेलीको समेत अस्तित्व लुटिनेछ। अर्काको अधीनमा भएको देश र जनताको हविगत कस्तो हुन्छ, भनिरहन परोइन। दलीय राजनीतिका नाममा विदेशी रिझाउने र स्वदेशीलाई कज्याउनेहरू आज पनि करोडौं सम्पत्तिका मलिक छन्। 
 
भोलि पनि त्यही हुन्छ। त्यसैले राष्ट्रघातका दृश्यहरू हेरेर हामी जनता जबसम्म मौन बस्छौं, तबसम्म क्यान्सर झैं राष्ट्रघात फैलिइरहन्छ। 
 
दल, जात, क्षेत्र वा गोत्र हेरेर राष्ट्रिय स्वाभिमानलाई तुच्छ ठान्नेहरूले जनतालाई विभाजित गराउने प्रयत्न गरिरहेका छन्। त्यसैले मन्दिर र गुम्बाभन्दा विधर्मीको संख्या बढ्दा पनि राजनीतिका खेलाडीहरू मौन छन्। राष्ट्रियताका सबालमा ती मौन छन्।
 
पहिचानवादी भन्न रुचाउनेहरूलाई राष्ट्रियताको पहिचान समाप्त होला भन्ने कुनै चिन्ता छैन। हजारौं वर्ष पुराना धर्म-संस्कृति, भाषा, परम्परा र मौलिकताको चिन्ता छैन। जातको मात्र चिन्ता छ। जातका नाममा उनीहरू घात गरिरहेका छन्। 
 
परम्परागत धर्म-संस्कृति मान्ने आफ्नै जातका विद्वान्-विदुषीहरूलाई उनीहरू आँखाको कसिंगर ठान्छन्। विदेशीहरूले डिजाइन गरेको मार्गमा ती हिँडेका छन्। नेपालगन्ज-रुपैडियाबीच चल्ने टाँगाका घोडालाई झैं उनीहरूका आँखामा युरो-डलरको आइप्याड (पट्टी) लगाइएको छ। विदेशी पैसामा ती उन्मत्त छन्।
 
मोरक्को, अल्जेरिया, मरिटानियाबीचमा अवस्थित वेस्टर्न सहारामा सन् १९०४ देखि ७१ वर्षसम्म स्पेनले शासन ग:यो। दोस्रो महायुद्धपछि जनतामा आएको राष्ट्रवादको चेतनाले राष्ट्रिय स्वाभिमानको संघर्षलाई बल पुग्यो।
 
सन् १९७३ देखि राष्ट्रवादी संघर्ष चर्कियो र अन्तत: राष्ट्रसंघको रोहबरमा सन् १९७५ मा जनमत संग्रह भयो। राष्ट्रसंघले इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) - लाई सोध्यो- त्यहाँको गृहयुद्धलाई मुक्तियुद्ध भन्न मिल्छ कि मिल्दैन भनेर। 
 
सन् १९७५ को अक्टोबर १६ मा आईसीजेले भन्यो- राष्ट्रसंघीय महासभाको प्रस्ताव नं १५१४ (१५) अनुसार स्थानीय जनताको स्वनिर्णयका पक्षमा संघर्ष भएको ठहरिन्छ। 
 
सन् १९७५ को नोभेम्बर १४ मा स्पेन, मरिटानिया र मोरक्कोबीच म्याड्रिडमा सम्झौता भएपछि स्वाभिमान र अस्तित्वको युद्ध विसर्जन भयो। त्यहाँ जातीय पहिचान होइन, राष्ट्रिय स्वाभिमानको युद्ध भएको थियो।
 
नेपाल शक्तिभूमि हो। ज्ञानभूमि हो। शिव र बुद्ध पुज्य हुनुको कारण यही हो। शक्तिको साधना गर्ने शाक्त हुन् नेपाली। बुद्धलाई महामानव मान्छन् नेपाली। 
राष्ट्रको अस्तित्व नै समाप्त पार्न खोज्ने दाताको भेषमा बसेका शकुनी र उनीहरूका बब्रुबाहन बनेर दौडिने खलपात्रहरूले नेपालीको धैर्य मात्र देखेका छन्, उनीहरूभित्रको ज्वालामुखी देखेकै छैनन्। 

 
नेपाल धर्मनिरपेक्ष हुनैपर्छ भन्ने मन्तव्य दिएर लुसुक्क भागे एकजना फिरंगी। नेपालमा छत्तीस प्रतिशत मात्र हिन्दु छन् भनेर एमालेका नेतालाई बोल्न लगाउने उनै फिरंगी हुन्। राष्ट्रिय एकता दिवस खारेज गराउने उनै फिरंगी हुन्। 
 
नयाँ नेपाल भन्दै हिन्दु र बौद्ध संस्कृति खरानी बनाउन खोज्नेहरू उनै हुन्। एक दिन यी छद्मभेषीहरू पोको बोक्दै विमान चढेर भाग्नेछन्। भाग्न नसक्नेहरूलाई जनताले सडकमा ल्याएर धोबीले लुगा चुटे झैं चुट्नेछन्। 
 
त्यसबेला संसारले चाल पाउनेछ- नेपाली जनता कोदो र फापर खाएर पनि लडाइँ गर्छन्। मातृभूमिप्रति घात गर्दैनन्। जात, धर्म र सम्प्रदायमा विभाजित भएर राष्ट्रलाई कमजोर बनाउँदैनन् संघर्ष गर्छन्, समर्पण गर्दैनन्। 
 
स्कुल-कलेजका लाखौं विद्यार्थी सडकमा आएर भन्नेछन्- विदेशी पैसा चाहिँदैन, देश बेच्न पाइँदैन। त्यो बेला देशघातीहरू शरणार्थी हुनेछन्।
 
हाम्रा पुर्खाले सिकाएका छन्- मेरो शिर उडाऊ, बरु त्यो सहन्छु, पराइले शिर टेके सहन्न। अमरसिंह थापाले अंग्रेजहरूलाई चुनौती दिँदै भनेका थिए- म सिंहको सन्तान हुँ, सिनो खाने स्याल नसम्झ। हो, हामी सिनो खाने स्याल भएर समर्पण गर्दैनौं। सिंह झैं लडिरहन्छौं, लडिरहन्छौं र लडिरहनेछौं।

प्रतिकृया दिनुहोस

आजको ताजा खबर

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us